इटहरीः नेकपा एमाले सुनसरी जिल्ला कमिटि जेठ २ मा नफर्किएको विषयमा अझैपनि विवाद कायमै छ । आजबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन सुरु भएपनि पार्टी भित्रकै एउटा तप्का जिल्ला नेतृत्वको विषयमा असन्तुष्ट छ ।

जेठ २ कै विवादको निरन्तरता कार्तिक २४ गते एमाले सुनसरीको जिल्ला कमिटीको बैठकमा देखियो । जेठ २ मा फर्किने विषयमा सहमत हुन संस्थापननिकट समूह नमानेपछि केही नेताहरूबीच जिल्ला कमिटीको बैठक बस्ने मध्यमार्गी सहमति भएको थियो ।

सहमतिअनुसार विस्तारित बैठकको अध्यक्षता जेठ २ का समर्थक रहेका जिल्ला इन्चार्ज धर्म निरौलाले गर्ने र खेमराज पोख्रेलको अध्यक्षतामा अधिवेशन आयोजक कमिटी बनाउने कुरा थियो ।

जेठ २ अघिका अध्यक्ष रमेश बस्नेत र पछिल्लो पटकका अध्यक्ष रेवतिरमण भण्डारीबीच लामो समयदेखि विवाद भएपछि बुधबार दुवै जनालाई ’ब्याक’ गर्ने सहमति थियो । तर, त्यही विवाद मिलाउन गरिएको सीमित नेताहरूको सहमतिसमेत विवादित भयो ।

एमाले सुनसरीका पूर्वअध्यक्षसमेत रहेका इटहरीका मेयर द्वारिकलाल चौधरीले बैठकको अध्यक्षता गर्ने प्रक्रिया अवैधानिक भएको भन्दै मञ्चमै पुगेर माइक खोसे ।

अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथि नहुने भन्दै चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव उत्पन्न भएको थियो ।

चौधरी मात्र नभई जेठ २ अघिकै अध्यक्ष रहेका रमेश बस्नेतसमेत बैठकमा सहभागी भएनन् । यसैगरी, धरानबाट जेठ २ अघिको कमिटीका जिल्ला सदस्यहरूसमेत सहभागी भएनन् । अध्यक्ष आफू रहेको र जिल्ला कमिटीको बैठक आफूहरूले नबोलाएको बस्नेतको टिप्पणी छ ।

एमालेको विवादमा एसको सक्रियता !

जेठ २ को यहि विवादलाई भने एमालेबाट फुटेर बनेको नेकपा एसले भने क्यास गर्न खोजेको छ । माइक खोसेको २ दिनपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल द्वारिकलाल चौधरीको घर नै पुगे ।

चौधरीको घर पुग्ने माधव नेपालको कार्यक्रमलाई समाजवादीले भने पार्टी प्रवेश गर्ने हल्ला नै चलायो । प्रदेश कमिटी सदस्य तथा इटहरी ४ नम्बर वडाध्यक्षसमेत रहेका चन्द्र भट्टराई लगायतले पार्टी प्रवेश गर्ने फेसबुकमार्फत् प्रचार गरिएको थियो । तर,भट्टराईलगायत अन्यले विज्ञप्ति नै निकालेर विरोध गरेपछि फेसबुक पोस्ट हटाएका थियो ।

चौधरीले समेत एमालेभित्र ’निहुँ’ खोजेकै बेला माधव नेपाललाई घर बोलाएर एमालेभित्र तरंग ल्याइदिए । पार्टीभित्र आफूले भनेको कुरा लागु हुन छोडेपछि चौधरीले एमालेबाट फुटेको दलको अध्यक्षलाई नै घरमा ल्याएर एमालेभित्र बहस सृजना गराइदिए ।

नेपालसँगै नेकपा एसका सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसमेत कार्यक्रममा सहभागी भएका थिए । बिहीबार बेलुका इटहरी आएका माधव नेपालले चौधरीलाई मात्र नभई एमालेको कमिटीको कारण असन्तुष्ट अन्य कार्यकर्ताहरूलाई समेत भेटेका थिए ।

’तपाईँहरूले बुझ्नु नै भएको छ नि, एमालेभित्र अहिले ठूलो विवाद छ त्यसले गर्दा हाम्रो पार्टीमा आउने सम्भावना बढेको छ’ नेकपा एसका एक केन्द्रीय नेताले भने ’धेरै कमरेडहरू हामीसँग कन्भिन्स हुनुहुन्छ । केही समय लिने बताएकोले तत्काल पार्टी प्रवेशचाहिँ भएको छैन ।’