इटहरीः जनता समाजवादी पार्टीसँग फुटेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश १ मा ३ महिनाभित्रमा एक लाख ५० हजार साधारण सदस्य र १५ हजार सक्रिय सदस्यता विस्तार गर्ने बताएको छ ।

लोसपा प्रदेश १ समितिको इटहरीमा शुक्रबार र शनिबार आयोजित पूर्ण बैठकले पार्टीलाई जनताको बीचमा पुर्याउन पार्टी सुदृढीकरण तथा परिचालनका लागि ३ महिने अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

शनिबार इटहरीको हिरा होटलमा आयोजित पत्रकार सम्मेलनमा लोसपाको प्रदेश १ समितिले आफ्नो बैठकको निर्णय सार्वजनिक गरेको छ । लोसपाले प्रदेश समतिका अध्यक्ष पक्तालुङ्ग योङहाङ्गदरा हस्ताक्षरित प्रेस विज्ञप्तिसमेत सार्वजनिक गरेको छ ।

प्रदेश समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धितर्फ इङ्गित गर्दै महङ्गीको मारमा परेका जनतालाई अपारदर्शी ढङ्गले गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने मागसमेत सरकारसँग गरेको छ ।

राज्यको दायित्व शान्ति सुरक्षा प्रदान गर्ने भएता पनि शान्ति सुरक्षामा समेत दलगत प्रभाव कायम रहेकाले त्यसलाई तुरुन्त हटाउन भनिएको छ । विज्ञप्तिमा सुकुम्बासी र भूमिहीन समस्याको समाधानको लागि गठन गरिएका आयोगहरु र त्यसका गतिविधि दलीय भागबण्डामा नभई सर्वपक्षीय र न्यायोचित बनाउनसमेत माग गरिएको छ ।

संविधान संशोधनसँगै नागरिकता ऐन बनाई नागरिकताबाट बञ्चित नागरिकलाई नागरिकता प्रदान गर्नसमेत लोसपाले माग गरेको छ । प्रदेश नम्बर १ मा मधेध जनविद्रोह, कोज, लिम्बूवान, किराँत, खम्बूवान, आन्दोलनको मर्म र भावनाअनुसार प्रदेशको नाम किँरात लिम्बूवान कोच मधेश हुनुपर्ने लोसपाको प्रस्ताव छ ।

लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेश १ समितिको बैठकमा प्रदेश समितिका पदाधिकारी, केही केन्द्रीय सदस्य र इटहरी नगर समितिका अध्यक्ष साथै अन्य पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।