सुन्दरहरैंचाः मोरङको सुन्दरहरैंचामा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागितामा सिद्धार्थ सांगीतिक कार्यक्रम हुने भएको छ ।

सुन्दरहरैंचा ६ स्थित सिद्धार्थ युवा क्लबको आयोजनामा यही कात्र्तीक २९ गते हुने कार्यक्रमको बारेमा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै सुन्दरहरैंचा ६ का वडासदस्य तथा कार्यक्रम संयोजक डम्बर थापामगरले तिहार छठ लगायतका पर्वहरुको अवसर पारेर स्थानीयवासीलाई विशृद्ध मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा अपरान्ह ४ बजेसम्म खुल्ला नृत्य प्रतियोगिता सञ्चालन हुने उनले जानकारी दिए । जसमा नेपाली लोक सँस्कृति झल्कने गीतमा सामुहिक नृत्यहरुबीच प्रतिस्पर्धा गराइने जनाइएको छ । यसैगरी, साँझ ६ बजेदेखि हुने साँस्कृतिक कार्यक्रममा चर्चित हास्य श्रृंखला सक्किगो नि का मुख्य पात्रहरु अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) को हास्य प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

यस्तै चर्चित गायिका एलिना चौहान र स्थानीय कलाकारहरुको गीत तथा नृत्यहरुको प्रस्तुतिसमेत रहने जनाइएको छ । वर्षेनी कार्यक्रम आयोजना गर्ने गरेकोमा कोरोना महामारीका कारण निकै लामो समय यस्ता कार्यक्रमहरु सञ्चालन नभएको अवस्थामा हाल कोरोना संक्रमण निकै कम भएकाले कोरोनाको त्रास भुलाई विशुद्ध मनोरञ्जन दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक थापामगरले जानकारी दिए ।

कार्यक्रममा ८ लाख खर्च हुने र सो रकम स्थानीयवासी स्वयमले स्वतस्फूर्तरुपमा संकलन गरेको आयोजकले जनाएको छ । कार्यक्रममा सुन्दरहरैंचा, इटहरी, केराबारीलगायत क्षेत्रका गरी ७ हजारभन्दा बढी दर्शकको सहभागित हुने आयोजकको अपेक्षा छ । कार्यक्रममा विराट टेलिभिजन इटहरी र कोशी बुलेटिन डटकम मिडिया पार्टनरको रुपमा रहेका छन् ।