इटहरीः मोरङको विराटनगर महानगरपालिका–१६ भट्टीमोडबाट प्रहरीले एक लाख २५ हजार पाँच सय रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर–१५ का ४३ वर्षीय वसन्त राई र २७ वर्षीय महादेव श्रेष्ठ, विराटनगर–१६ का ४८ वर्षीय पर्वत डङ्गोल र ४८ वर्षीय उमेश दाहाल, विराटनगर–१४ का ३९ वर्षीय अनिल विक र विराटनगर–१३ का ५७ वर्षीय श्याम लामा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्थानीय लक्ष्मी लामाको घरमा जुवा खेलिरहेको अवस्थामा अभियुक्तहरुलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

अभियुक्तहरुउपर जुवा ऐन २०२० अनुसार कारबाहीका लागि जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद लिई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।