इटहरीः नेकपा एकीकृत (समाजवादी) पार्टीका संघीय अध्यक्ष माधवकुमार नेपालले नेपालका सबै धार्मिक शक्तिपीठको प्रतिनिधित्व समेटिनेगरी धार्मिक संग्राहालय बनाउनुपर्ने बताएका छन् ।

सुनसरीको चतरामा आयोजित राष्ट्रिय शान्ति धनधान्याञ्चल श्रीमदभागवत महापुराणको उद्घाटन गर्न शुक्रबार त्यहाँ पुगेका अध्यक्ष नेपालले धार्मिक पर्यटनका लागि एकै ठाउँमा सबै धार्मिक पीठको प्रतिनिधित्व हुनेगरी धार्मिक संग्रहलय बनाउनुपर्नेमा जोड दिए । अहिले सरकारको पर्यटन मन्त्री आफ्नै पार्टीको भएको बताउँदै अध्यक्ष नेपालले कुन ठाउँमा धार्मिक संग्राहलय बनाउँदा उपयुक्त हुन्छ भन्ने निधो गरेर पहल थाल्न आफूले पर्यटन मन्त्रीलाई ध्यानाकर्षण गराउने समेत बताए ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई समेत अध्यक्ष नेपालले धार्मिक संग्राहलयको लागि आफ्नो तर्फबाट पहल थाल्न कार्यक्रममै ध्यानाकर्षण गराएका थिए । बालसन्त पीठ चताराधामको आयोजनामा भएको महापुराणको उद्घाटन सत्रमा बोल्दै नेता नेपालले विश्वभरिका हिन्दूहरुलाई एक पटक नेपाल आउनेगरी धार्मिक क्षेत्रको विकास गर्न सके नेपालको पर्यटनले क्षेत्रले पनि फाइदा लिन सक्ने बताए ।

सबै जैविक विविधताहरु हेर्दा नेपाल संसारमै उत्कृष्ट राष्ट्र भएको औँल्याउँदै नेता नेपालले देशलाई माया गर्ने भावना जगाइराख्नुपर्नेमा जोड दिए । जिम्मेवारी बोधको भावनालई बोध गर्ने तथा सत्ताको दम्भको प्रवृत्तिलाई त्याग्न सके मात्र आफ्नो प्रतिष्ठालाई बचाइराख्न सकिने भन्दै अध्यक्ष नेपालले राष्ट्रलाई माया गर्न नसके नेपाली भएको अर्थ नरहने समेत स्पष्ट पारे ।
सबैले देशको प्रतिष्ठालाई उच्च राख्दै आफ्नो देशको गरिमालाई बढानुपर्नेमा नेता नेपालको जोड थियो ।

“प्रकृतिक, जैविक, भौगोलिक, भाषागत हिसाबले नेपाली समाज विविधताले भरिएको छ । यहँको भाषा र सँस्कृति विशेष छ । त्यसैले पनि नेपालीहरु आपसमा मिलेर बस्न चाहन्छन् । एक अर्कालाई आदर गर्छन् ।” नेपालले भने ।