इटहरीः नेकपा एमाले सुनसरीको नेतृत्व चयनमा माइक खोसेका इटहरीका मेयर तथा पूर्व अध्यक्ष द्वारिकलाल चौधरीले माधव नेपाललाई लन्च पार्टी दिएका छन् ।

एमाले सुनसरीको नेतृत्वमा हेरफेरलाई लिएर असन्तुष्ट चौधरीले शुक्रवार माधव नेपाल सहित अन्य नेतालाई घरमा भोज खुवाएका हुन् । नेकपा एकीकृत समाजवादीको कार्यक्रममा भाग लिन इटहरी पुगेका अध्यक्ष नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई चौधरीले शुक्रवार घरमै स्वागत गरेका थिए ।

आफ्नो इटहरी लबीपुर स्थित स्थित घरमा चौधरीले खसीको मासु, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारले सत्कार गरेका हुन् । दुई दिनअघि मात्रै उनले एमाले जिल्ला कमिटी सुनसरीको बैठकमा माइक खोसेका थिए । चौधरीले एमालेमा ’स्पेस’ कम पाएपछि एमाले नेतालाई देखाउनै माधव नेपाललाई घरमा डाकेर मासु भात खुवाएका हुन् । 

mayor chaudhary

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी चौधरी केही दिनअघि इनरुवामा भएको एमालेको बैठकमा माइक खोस्नै पुगेका थिए । त्यसअघि आफ्नो अध्यक्षतामा बैठक बस्ने चौधरीले बताएका थिए । तर एमालेको रेवती भण्डारी र रमेश बस्नेत पक्षले नेतृत्व गरेको समूहको बैठक खेमराज पोखरेलको अध्यक्षतामा बसेको थियो ।

एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी चौधरीले बिहीबार मात्रै समाजवादीका प्रदेश १ अध्यक्ष एवम् उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खाना खाएको फोटो भिडियो फेसबुकमा हालेका थिए ।

 त्यसपछि चौधरीले शुक्रवार माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै बोलाएर मेजमानी गरेका हुन् । चौधरी समाजवादीतिर जाने विवरणसहितका सन्देश अहिले सामाजिक सञ्जालमा लेखिएको छ ।