चितवनः नेकपा (माले)को आठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।

मालेको महाधिवेशन यही कात्तिक २७ गतेदेखि २९ गतेसम्म चितवनको नारायणी कला मन्दिरमा महाधिवेशन गर्न लागिएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिले चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । समितिका संयोजक एवम् मालेका स्थायी कमिटी सदस्य दीननाथ घिमिरेका अनुसार महाधिवेशनका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको छ । मालेका महासचिव सिपी मैनालीद्वारा उद्घाटन हुने सो महाधिवेशनमा देशभरका ३५० प्रतिनिधि सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । यसअघि नेकपा एमालेले चितवनमा मंसिर १० बाट महाधिवेशन गर्ने तय गरिसकेको छ । त्यसअगाबै मालेले चितवनमै महाधिवेशन गर्ने जनाएको हो ।

गत वैशाखमा गर्ने भनिएको महाधिवेशन कोरोना कहरका कारण सारिएको भन्दै उनले स्वास्थ्य मापदण्ड पालनाका लागि थोरै प्रतिनिधिका बीच महाधिवेशन गर्न लागिएको जानकारी दिए । यस महाधिवेशनले ७५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ । सोही समितिले पोलिटब्यूरो सदस्य, स्थायी कमिटी र महासचिव निर्वाचित गर्नेछ । महाधिवेशनमा नेपालको क्रान्तिको कार्यक्रम (नयाँ जनवाद), राजनीतिक प्रतिवेदन, नेपाल चिन्तन, मालेको सङ्गठनात्मक प्रस्ताव–प्रतिवेदनमाथि छलफल गर्नेछ । यस्तै, पार्टीको तत्कालीन कार्यनीति, अर्थनीति, राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्ताव, पार्टीको विधान (परिमार्जनसहित पारित गर्ने) घिमिरेले जानकारी दिए । उनका अनुसार पार्टीको महाधिवेशनमा हालको राज्य व्यवस्था असफल भएको विषयमा बृहत् छलफल हुनेछ । अहिलेको सङ्घीयताका कारण जनतामा परेको समस्या विशेष प्राथामिकतामा रहने उनले बताए । ‘महाधिवेशनमा प्रादेशिक संरचनाको विषयमा छलफल हुनेछ,’ उनले भने । प्रदेशका संरचना हटाएर स्थानीय तह र जिल्लालाई अधिकार दिने विषयमा विशेष निर्णय गरिने उनले बताए । -रासस