इटहरीः नेकपा एकीकृत (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशभरबाट समाजवादी पार्टीमा प्रवेश गर्ने लहर चलेपछि अरु अत्तालिएको बताएका छन् ।
आज साँझ विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पार्टी अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले आफू अरुको आलोचना नगर्ने बताउँदै कसले के भन्यो भन्ने विषयतिर आफू जान नचाएको उल्लेख गरे । नेपालले हाल अदालतमा देखिएको विवादको विषयलाई गठबन्धनमा आबद्ध दलहरुका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा अग्रसर भएकाले अदालतको विषय त्यहीँबाट समाधान होस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले नेकपा एमालेका नेता योगेश भट्टराईले केही दिनअघि आफ्नो पार्टीलाई अवैधानिक भनेको विषयमा आफूलाई थाहा नभएको बताए ।
नेता नेपाल भोलि पवित्र धार्मिकस्थल वराहक्षेत्रस्थित चतराधाममा सुरु हुने एक धार्मिक कार्यक्रमको उद्घाटन गर्न प्रदेश १ आएका हुन् । उनलाई स्वागत गर्न विमानस्थलमा प्रदेश १ का मुख्यमन्त्री एवं पार्टीका संघीय सचिव राजेन्द्र राई, केन्द्रीय सदस्य केशवकुमार बिष्टलगायत प्रदेश सांसद तथा नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको पार्टीका सुनसरी उपसचिव राजेश भण्डारीले बताए । उनका अनुसार अध्यक्ष नेपाल इटहरीस्थित होटल मादेन इनमा रहने र सुनसरी जिल्लाका पार्टी नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।