इटहरीः धनकुटा जिल्लामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा एभोकाडो महोत्सव आयोजना हुने भएको छ ।

धनकुटा नगरपालिका सहआयोजक रहेको उक्त महोत्सव आगामी मङ्सिर ४ र ५ गते आयोजना हुन लागेको हो । सुन्तला, जुनार, मुन्तलाजस्ता कृषि उत्पादनमा अगाडि रहेको धनकुटाले यी उत्पादनमा विस्तारै ह्रास आउन थालेपछि एभोकाडोको खेतिमा जोड दिएको थियो । धनकुटा नगरपालिकाले २०७५ सालमा नगर क्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरी व्यावसायिक उत्पादनमा जोड दिएपछि कृषकहरुले उत्साहपूर्वक एभोकाडोको खेति गरिरहेका छन् । आफ्नो जिल्लामा उत्पादन भएको एभोकाडोलाई देशका विभिन्न ठाउँमा प्रवद्र्धन गर्नका साथै नगर क्षेत्रमा उत्पादन हुने एभोकाडोको प्रचारप्रसार गर्न एभोकाडो महोत्सवको आयोजना गर्न लागिएको आयोजकले बताएका छन् । एभोकाडोजन्य उत्पादनको प्रवद्र्धन गर्नका लागि धनकुटा नगरपालिकाले यसअघि नै पहिलो एभोकाडो महोत्सवको आयोजना गरिसकेको छ ।

avocado-mhotsab-3

दुई वर्षअघि गरिएको पहिलो महोत्सवको सफलतापछि वर्षेनी आयोजन गर्ने भनिएको भएता पनि कोरोना महामारीका कारण गत वर्ष महोत्सवको आयोजना भएको थिएन । महोत्सवको मङ्सिर ४ गते धनकुटा नगरपालिका वडा नम्बर ६ स्थित एभोकाडो पार्कमा उद्घाटन गरिने कार्यक्रम रहेको आयोजकले बताएका छन् । महोत्सवमा नगरक्षेत्र तथा देशभरि उत्पादन भएका एभोकाडो र एभोकाडोजन्य उत्पादनको प्रदर्शनी, बिक्रीवितरण तथा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने र महोत्सवमा सहभागी भएका नगर क्षेत्रका एभोकाडो कृषकहरुलाई प्रोत्साहनस्वरुप प्रविधि हस्तान्तरण गरिने कार्यक्रम रहेको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । महोत्सवको दोस्रो दिन संघसँस्थाका प्रतिनिधि र सम्बन्धित क्षेत्रका सरकारी प्रतिनिधिका साथै एभोकाडो उत्पादक किसान र व्यापारीबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । यसबाट सो क्षेत्रमा देखा परेका रोगको प्रकोपजस्ता समस्याको पहिचान र व्यवस्थापनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

avocado-mhotsab-7