इटहरीः १ नम्बर प्रदेशमा एक वर्षमै १० मेट्रिक टन मह उत्पादन भएको छ ।

अघिल्लो आर्थिक वर्षको समीक्षा गर्दा एक वर्षमा १ नम्बर प्रदेशले मात्रै १० मेट्रिक टनभन्दा बढी महको उत्पादन गर्न सफल भएको हो । अघिल्लो वर्ष ७ मेट्रिक टनमा सीमित रहेको महको उत्पादन गत आर्थिक वर्षमा ३ मेट्रिक टनले बढेर १० पुगेको हो । यसरी महको उत्पादन गर्नेमा सबैभन्दा अगाडि उदयपुर जिल्ला रहेको छ । उदयपुर एक्लैले गरेको एक वर्षको उत्पादनलाई हेर्ने हो भने ७७ प्रतिशतभन्दा बढी योगदान दिएको एक अध्ययनले देखाएको छ ।

प्रदेश सरकारको सहयोगमा विभिन्न जिल्लामा रहेका कृषि ज्ञान केन्द्रले युवालक्षित कार्यक्रम अनुसार किसानलाई माहुरीको घार लगायतका सामग्री उपलब्ध गराएका कारण महको उत्पादनमा वृद्धि भएको नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ । युवालक्षित कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई देशमै अवसरको खोजी गर्नतर्फ अभिप्रेरित गरेका कारण प्रदेशमा महका साथै नगदे बालीमा युवाको आकर्षण बढेको देखिन्छ ।