इटहरीः कोरोना महामारीका कारण भएको देशव्यापी लकडाउन लगायतको प्रभावले प्रदेश १ मा रहेका उद्योगहरुले आफ्नो क्षमताभन्दा झण्डै आधा मात्र उत्पादन गरेको पाइएको छ ।
प्रदेशमै नमुनाको रुपमा छानिएका उद्योगहरुको औसत क्षमताको ५२ दशमलव ९ प्रतिशत मात्र उपयोग भएको पाइएको छ । उपयोग भएका उद्योगमा सबैभन्दा कम उत्पादन वनस्पति घिउको रहेको छ । वनस्पति घियुको उत्पादन गर्ने उद्योगको क्षमता उपयोग ६ दशमलव ९ प्रतिशतमा सीमित रहेको छ भने तेल उत्पादन गर्ने उद्योगमा तोरीको तेल उत्पादन गर्ने उद्योगले आफ्नो क्षमताको ९४ दशमलव ५ प्रतिक्षत क्षमताको उपभोग गरेका छन् । धेरैजसो तेलको आयात भारतीय बजारबाट हुने भएको र कोरोना महामारी र लकडाउनले रोकिएका कारण स्वदेशी तेलको उत्पादनमा वृद्धि हुन गएको र उद्योगले आफ्नो क्षमताको उपयोग गर्न पाएको हो ।
तोरीको तेलपछि सबैभन्दा बढी क्षमताको उपयोग गर्नेमा तयारी कपडा उद्योगको क्षमताको वृदि सबैभन्दा बढी ५५ दशमलव ५ प्रतिशत रहेको छ । वनस्पति घिउको उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ६१ दशमलव ४ प्रतिशतले घटेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा तयारी कपडा उद्योगको उत्पादन सबैभन्दा बढी ३८८ दशमलव ५ प्रतिशतले बढेको छ भने इट्टाको उत्पादनमा सबैभन्दा बढी ७६ दशमलव ७ प्रतिशतले गिरावट आएको छ । समीक्षा अवधिभन्दा पहिला अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तयारी कपडाको उत्पादन ५९ प्रतिशतले घटेको थियो भने इट्टाको उत्पादनमा भने कुनै परिवर्तन आएको थिएन । विश्वव्यापी कोरोना महामारी र लकडाउनका कारण इट्टाभट्टामा काम गर्ने भारतीय कामदार नआउँदा इट्टा उत्पादनमा ह्रास आएको अध्ययनले देखाएको छ भने कोभिड संक्रमणको कारण सीमा नाका नियमित नहुँदा स्थानीय बजारमा आयातित कपडाको कमी भई स्वदेशी लत्ताकपडाको माग बढेकाले तयारी कपडाको उत्पादन उल्लेख्य मात्रामा बढेको देखाइएको छ ।
अघिल्ला वर्षको तुलनामा आर्थिक वर्ष २०७७ ७८ मा निर्यात हुने वस्तुहरुमध्ये धागोको उत्पादन २६ प्रतिशत, फलामे छडको उत्पादन १४ प्रतिशत चाउचाउको उत्पादन १० दशमलव ७ प्रतिशत तथा भटमासको तेलको उत्पादन ५ दशमलव ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा धागोको उत्पादन १ प्रतिशत र भटमासको तेलको उत्पादन ७१ दशमलव ३ प्रतिशतले बढेको थियो भने फलामे छडको उत्पादन र चाउचाउको उत्पादन क्रमशः ४० दशमलव ८ प्रतिशत र १ प्रतिशतले घटेको थियो ।