इटहरीः सप्तरीको कञ्चनरुप नगरपालिका २, बरमझियास्थित पूर्वपश्चिम राजमार्गमा बसले भारतीय मोटरसाइकल र पैदल यात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बीआर ३८ आर ८१७३ नम्बरको मोटरसाइकलका चालक भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको बलुवा–३ निवासी २२ वर्षीय राजुकुमार तिवारी र पछाडि सवार पहिचान खुल्न नसकेका अन्दाजी ३१ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनापछि गम्भीर घाइते भएका तिवारीलाई उपचारार्थ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने अर्का पुरुषको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बसको ठक्करले पैदल यात्री कञ्चनरुप नगरपालिका १ बरमझिया बस्ने १९ वर्षीय रोहनप्रसाद गुप्ता घाइते भएकोमा उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि गराई थप उपचारका लागि विराटनगर लगिएको डीएसपी काफ्लेले बताए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले मोटरसाइकल र पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।