इटहरीः धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित दुई वडाध्यक्षहरु नेकपा एमालेमा प्रवेश गरेपछि दुवैको निर्वाचित पद गएको छ ।

मुल पार्टी नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेसँगै सो पार्टीबाट निर्वाचित वडाध्यक्षहरुले पद गुमाएका हुन् । यसरी पद गुमाउनेहरुमा धनकुटा नगरपालिका ९ बेलाहाराका वडाअध्यक्ष मनोज रायमाझी (सन्दीप) र महालक्ष्मी नगरपालिका ३ का वडाअध्यक्ष भरत थापा रहेका छन् । नेकपा माओवादी केन्द्रले पार्टीको विधानको धारा ५७ को ञ अनुसार दुवै जनालाई पार्टीबाट निष्कासन गरेको सो पार्टीका धनकुटा संयोजक ऋषिराम ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार पार्टीबाट निष्कासन गरिएका जनप्रतिनिधिलाई पदबाट पनि हटाउन जिल्लाको सिफारिस प्रदेश समितिमार्फत केन्द्रमा पुगेपछि निर्वाचन आयोगलाई जानकारी गराइने र आयोगले उनीहरुको पद खारेज गर्ने कानुनी व्यवस्था रहेको छ । महालक्ष्मी नगरपालिका ३ का वडाध्यक्ष थापा गत कार्तिक ९ गते एमालेमा प्रवेश गरेको र धनकुटा ९ का वडाध्यक्ष पनि एमालेकै गतिविधिमा सक्रिय भएको पाइएकाले प्रष्टिकरणको मौका दिई नियमानुसार कारबाही गरिएको संयोजक ढुङ्गानाले स्पष्ट पारे ।