इटहरी: नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डबाट लागु भएको स्वास्थ्य बीमा कार्यक्रम झण्झटिलो भएको भन्दै नेकपा एकीकृत समाजवादी इटहरी उपमहानगर कमिटीका पदाधिकारीले प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई सो समस्याको समाधानको लागि पहल गर्न ध्यानाकर्षण गराएका छन् । 

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी नागरिकले हरेक हप्ता रिफर लिएर अस्पताल जानुपर्ने व्यवस्थालाई अनिवार्य गरिएकोप्रति असन्तुष्टि जनाउँदै कमिटीले कम्तिमा एक पटक रिफर लिएपछि एक वर्षसम्म उपचार गर्ने व्यवस्था मिलाइनुपर्ने माग गरेका छन् । नागरिकलाई सहज ढङ्गले उपचारको सेवा दिन भनी स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको भएता पनि हरेक हप्ता रिफर लिनुपर्ने व्यवस्थाले नागरिकलाई दुःख दिएको कमिटीले जनाएको छ । योसँगै नेकपा एसका पदाधिकारीले धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रममा औषधिसमेत समावेस भएतापनि स्वास्थ्य जाँच मात्र गर्ने र औषधि खरिद गर्न बाहिर जानुपर्ने समस्या मुख्यमन्त्रीलाई सुनाएका छन् । बुधबार इटहरीमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा आएका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउँदै इटहरी नगर कमिटीले नागरिकले भोग्दै आएका समस्याको बँुदागत माग पत्र नै हस्तान्तरण गरेको छ ।

254115364_1071972300280448_3921900575972406458_n

पत्रकार भेटघाटलगत्तै छोटो समय माग गर्दै नेकपा समाजवादीका इटहरी नगर कमिटी अध्यक्ष गणेश बुढाथोकीले नगर कमिटीले तयार पारेको मागपत्र पढेर सुनाएका थिए । इटहरीले लामो समयदेखि डुबानको समस्या भोगेकोतर्फ इङ्गित गर्दै पार्टीले डुबानको समस्यालाई दीर्घकालीन समाधान गर्न शेरा खोलालाई बुढी खोलामा मिसाउनुपर्ने र त्यसका लागि बहुवर्षीय योजना तर्जुमा गर्न समेत मुख्यमन्त्रीलाई आग्रह गरेको पार्टीका इटहरी उपमहानगर इन्चार्ज केवल फुयाँलले बताए । हालै आएको बेमौसमी बाढीबाट भएको क्षतिबारे अवगत गराउँदै पार्टीले त्यसको क्षतिपूर्तिको लागि पहल गरिदिनसमेत आग्रह गरेको छ । त्यसैगरी, इटहरीको प्राथमिक स्वास्थ्य केन्द्रमा बन्दै गरेको १५ शैयाको अस्पताललाई क्षमता अभिवृद्धि गरी २०० शैयाको बनाउनसमेत नगर कमिटीले माग गरेको पार्टीका जिल्ला उपसचिव राजेश भण्डारीले जानकारी दिए । विभिन्न विभागमा हुने नियुक्तिमा समावेसी ढङ्गले सबैलाई समेट्न र राहत दरबन्दीमा रहेका शिक्षकहरुको समस्यालाई सम्बोधन गर्दै उनीहरुका समस्याको समेत समाधान गर्न मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइएको पार्टीका प्रदेश कमिटी सदस्य डा. दिवाकर रेग्मीले बताए ।

254001698_445192840367376_2519530171450932517_n

नेकपा एसका इटहरी नगर कमिटी सचिव वसन्त श्रेष्ठले आफूहरु चाँडै नगर कमिटीको बैठक बसेर इटहरीले भोग्दै आएका समस्यासहित मुख्यमन्त्रीलाई भेट्न जाने योजना रहेको बताए । पार्टीका जिल्ला कमिटी सदस्य एवं इटहरी उपमहानगर प्रचार समिति संयोजक पीबी दियालीले प्रदेश सरकार मातहतमा रहेका सञ्चार प्र्रतिष्ठानलगायत पत्रकारसँग सम्बन्धित निकायमा समावेसी ढङ्गले पाँच दलीय गठबन्धनसम्बद्ध पत्रकारहरुलाई अवसर दिनुपर्ने मुख्यमन्त्री राईसमक्ष माग गरे ।

253739496_285053293535061_831037993873012620_n