इटहरीः नेकपा एमाले सुनसरीको विवाद समाधानका लागि भन्दै बुधबार सदरमुकाम इनरुवामा बसेको पार्टीको बैठकमा आफूले अध्यक्षता गर्न नपाएपछि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले मञ्चको माइक खोस्न पुगेका छन् ।

 लामो समयदेखि पार्टीको आधिकारिकता विवादमा रहेका दुई समुह सहमतिनजिक आएको भन्दै विवाद समाधानका लागि अर्को व्यक्तिको अध्यक्षतामा बैठक बस्नेगरी बुधबार इनरुवामा पार्टीको बैठकको आयोजना गरिएको थियो । लामो समयदेखिको विवाद समाधान गर्नको लागि आयोजना गरिएको कार्यक्रम भाँडिएपछि पार्टिमा विवाद झनै उत्कर्षमा पुगेको छ । २०७५ जेष्ठ २ अगाडिको पार्टिको जिल्ला समितिको अध्यक्ष भनिएका रमेश बस्नेतले अध्यक्षता गर्नुपर्ने कार्यक्रम बस्नेतले भने बहिष्कार गरेका छन् । बस्नेतले बहिस्कार गरेपछि आफूले अध्यक्षता गर्न पाउनुपर्ने माग राखेका चौधरी पार्टी विधिले नचलेको आरोप लगाउँदै माइक खोसेर बैठकको बहिष्कार गर्दै इटहरी आइपुगेका थिए । बैठकको अध्यक्षता गर्नुपर्ने भनिएका रमेश बस्नेत द्वारिकलाल चौधरी इटहरीको मेयरमा निर्वाचित भएपछि कार्यवाहक जिल्ला अध्यक्ष भएका व्यक्ति हुन् ।

dwariklal chaudhary status.

 

केन्द्रले तोकेको भनिएका रेवतिरमण भण्डारी समेतले बैठकको अध्यक्षता नगरेपछि बुधबारको बैठकमा केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज धर्म निरौलाले अध्यक्षता गरेका थिए । आफ्नो अध्यक्षतामा हुनुपर्ने कार्यक्रममा केन्द्रले हस्तक्षेप गरेको भन्दै इटहरी उपमहानगरपालिकाका मेयर तथा पूर्व जिल्ला अध्यक्ष चौधरीले मञ्चको माइक खोसेपछि कार्यक्रम नै स्थगित भएको थियो । चौधरीले आधिकारिकताकै कुरा गर्ने हो भने २०७५ जेठ २ अगाडिको अध्यक्ष आफू भएको भन्दै माइक निकालेका हुन् । आफूले कार्यवाहक दिएका रमेश बस्नेतले कार्यक्रम बहिष्कार गर्ने र केन्द्रले तोकेका अध्यक्ष रेवतिरमणले पनि अध्यक्षता नगर्ने भएपछि आफूले अध्यक्षता गर्न पाउनुपर्ने उनको माग थियो । जेठ २ मा फर्कने भए बस्नेत नभएर भण्डारीले अध्यक्षता गर्नुपर्ने चौधरीको भनाइ थियो । बैठक आयोजना हुनुपूर्व दुवै पक्षको सहमतिमा प्रदेश सदस्य खेमराज पोखरेललाई जिल्ला संयोजक बनाउने गरी सहमति भएको थियो ।

तथापि कार्यक्रम नै स्थगित भएपछि पार्टी कमिटीमा खैलाबैला भएको छ । माइक खोसेपछि बैठकबाट निस्केका इटहरीका मेयर चौधरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो भनाइ विज्ञप्तिमार्फत् सार्वजनिक गरेका छन् । एमाले जिल्ला कमिटीको अध्यक्षको हैसियलले विज्ञप्ति निकालेका मेयर चौधरीले बैठक सञ्चालन पद्धतिप्रति निन्दा गर्दै कुनै पनि कमिटीको समयावधि समाप्त भएमा माथिल्लो कमिटीले कमिटी विघटन गरी संगठन कमिटी गठन गर्ने र अधिवेशन समाप्त गर्ने जिम्मेवारी दिने व्यवस्था भएको उल्लेख गरेका छन् ।

vigyapti dwarik chaudhary.