इटहरीः मोरङको रंगेली नगरपालिका ७ स्थित बक्राह खोलामा नुहाउन गएका २ जना युवकलाई बगाएको छ ।

बगाएका मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपता भएका छन् । आज दिउँसो १२ः३० बजे भारतको विहार राज्य मधेपुरा जिल्ला सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटुकुमार साह र १८ वर्षीय राजा साह बक्राह खोलाको पानीमा नुहाउने क्रममा डुवी हराई बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटी गई खोजतलास गर्दा बिटुकुमार साहलाई फेला पारी उपचारको लागी रंगेली अस्पताल पठाई चेकजाँच गर्दा मृत्यु भइसकेको पाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बेपत्ता राजा साहको खोजतलास जारी रहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।