इटहरीः १ नम्बर प्रदेशको नाम किराँतसँग अरु केही शब्द जोडेर प्रस्ताव गरिने प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी समाजवादी इटहरी उपमहानगर कमिटीले बुधबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले प्रदेशको नाम समावेसी शैलीमा राख्ने आफ्नो पार्टीको धारणा रहेको बताए । प्रदेशको नाम सरकारले नभई संसदले राख्ने भएकाले आफूले संसदमा र पार्टीमा समेत प्रदेशको नामका बारेमा छलफल थाल्ने मुख्यमन्त्री राईले बताए । प्रदेशको नामकरणको लामो खटपट भएको भएपनि अघिल्ला सरकारहरुले त्यसको बहससमेत नगरेको र प्रदेशले आफ्नो नाम नपाएको उनले पत्रकारहरुलाई सुनाए । पत्रकार सम्मेलनभन्दा पहिले इटहरी उपमहानगरपालिकाका पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले नेकपा एकीकृत समाजवादी नयाँ काम गर्ने र नयाँ ढङ्गले अघि बढ्ने पार्टी भएकाले नयाँ उचाइमा पुग्ने दाबी गरे ।

नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीमा एकलौटी ढङ्गले चल्ने, मनपरि गर्ने साथै पार्टीको सिद्धान्तभन्दा बाहिर बसेर व्यक्तिगत सिद्धान्त लादेका कारण छुट्टै पार्टी खोल्नुपरेको तर आफ्नो पार्टी जनतामाझ लोकप्रिय हुने राईले बताए । प्रदेशदेखि संघसम्म अहिले एकीकृत समाजवादीको राम्रो हिस्सा भएको र आगामी चुनावमा पार्टी स्थानीय तहदेखि संघसम्मै अहिलेको गठबन्धनलाई निरन्तरता दिने पक्षमा सरकार र संघीय कमिटि रहेको राईले स्पष्ट पारे । कम्तिमा एउटा चुनाव मिलेर लड्ने भन्ने गठबन्धनको कुरा रहेको बताउँदै मन्त्री राईले मिलेर चुनाव लडे सबैले जित्ने र सबैलाई नाफैनाफा हुनेसमेत बताए । स्थानीय तहदेखि संघसम्म पार्टी गठबन्धन बनाएर जाने र जनताको विरुद्धमा लाग्ने तथा लोकतन्त्रको घाँटी निमोठ्ने केपी ओली पक्षलाई परास्त पार्ने दिशामा गठबन्धनको सरकार लागेको राईले बताए ।

सरकार टिकाउन र आफूलाई सर्वेसर्वा बनाउन आफूअनुकुल व्यक्तिलाई स्थानीय तहदेखि संघसम्म मनोनयन गर्ने तथा पार्टी र सरकारभित्र पनि निरङ्कुशता लाद्न खोजेका कारण केपी ओली परास्त भएको मन्त्री राईले आरोप लगाए । ”पार्टी नीति, विधि र पद्धतिबाट चल्नुपर्छ । विचार अलग भएर पनि पार्टी फुट्न हुँदैन । त्यसमा पनि छलफल गरेर सहमतिमा आउने वा फरक मत राखेर अगाडि बढ्न सकिन्छ ।” राइले अघि भने । राम्रो र नयाँ गर्नेलाई जनताले साथ दिने बताउँदै मुख्यमन्त्री राईले काठमाडौँमा विवेकशील साझा पार्टीकी उमेद्वार रञ्जु दर्शनाले पाएको मतको उदाहरणसमेत कार्यक्रममा प्रस्तुत गरेका थिए । “हामी राम्रो गर्छौँ, हामी पार्टीको सिद्धान्त र छलफलबिना कुनै पनि काम गर्दैनौँ ।”राईले थपे । पहिलेको सरकारले बजेटका साथै नीति तथा कार्यक्रम सार्वजनिक गरेकाले अहिल्यै खासै केही गर्न नसकिने तर आगामी बजेटमा समाजवादोन्मुख कार्यक्रमहरु समेट्ने राईले बताए । मुख्यमन्त्री राईले आफूले आगामी ३० गते संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको समेत बताए ।