इटहरीः जग्गा बिचौलियाको पछिल्लो शिकार गायक योगेश्वर अमात्य भएका छन् । अमात्यको नाममा रहेको बारा जिल्लामा रहेको १२ बिघा जग्गा धितो राखेर बिचौलियाले कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएको खुलेको छ ।
बिचौलियाले गायक अमात्यको नाममा रहेको जग्गाको नक्कली धनीपूर्जा बनाएको र कुमारी बैंकबाट ऋण प्रवाह भएको भेटिएको छ । आफ्नो नाममा रहेको जग्गा धितो राखेको थाहा पाएपछि अमात्यले केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दिएका थिए । अहिले ब्युरोले कुमारी बैंकका ५ जना कर्मचारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ । यसरी धितो लिई ऋण प्रवाह गर्ने कुमारी बैंकका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसियासहित नक्कली जग्गाधनी बन्ने एसके महर्जन, मुक्तिलाल गौतम र बिचौलिया कुसुम प्रधानलाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ । प्रहरीको केरकारका क्रममा नक्कली जग्गाधनी महर्जन र गौतमले आफूहरु पनि फसेको बताएका छन् । उनीहरुले ‘प्रधानले आफूहरुलाई डुबाएको’ बताएका छन् । विस्तृत अनुसन्धान भइरहेको छ । नक्कली जग्गाधनी बनेका मुत्तिलाल गौतम र एसके महर्जनले बिरुवा भूमि वनकाली कम्पनीका नाममा उक्त जग्गा धितो राखी कुमारी बैंकबाट ऋण लिएको खुलेको छ ।
बिरुवा भूमि वनकाली नाम गरिएको कम्पनी गायक अमात्य र उनकी पत्नी सञ्चालक रहेको कम्पनी हो । पक्राउ पर्ने कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा उक्त जग्गाको नक्कली लालपूर्जा धितो राखेर कुमारी बैंकको न्युरोड शाखाबाट रकम निकालेको सीआईबीको अनुसन्धानबाट खुलेको छ । घटना विवरणअनुसार जग्गाको नक्कली पूर्जासहितको कागजात बनाएर सुरुमा ऋणका लागि कुमारी बैंकको पर्सा शाखामा पेस गरिएको र त्यसपछि पर्सा शाखाले उक्त फाइल न्युरोड शाखामा पठाएको अनुसन्धानबाट खुलेको सीआईबीले बताएको छ । न्युरोड शाखाले पनि स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्साललाई पनि पत्राचार गरेको र सोही आधारमा केन्द्रीय बैंकले अनुमति दिएपछि न्युरोड शाखाबाट रकम निकालिएको पाइएको सीआईबीले जनाएको छ । यो ठगी प्रकरणमा कुमारी बैंकको पर्सा शाखा, न्युरोड शाखा र केन्द्रीय कार्यालयका कर्मचारीको मिलेमतो र संलग्नता छ–छैन भन्ने विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुविरुद्ध भने सरकारी कागजपत्र किर्ते गरेको कसुरमा थप अनुसन्धान र बयान लिने काम भइरहेको सीआईबीले जनाएको छ ।