इटहरी: नेपाल कम्युनिस्ट पार्टी एमाले सुनसरी जिल्ला कमिटिमा विवाद चुलिएपछि विवाद समाधानका लागि आज बस्ने भनिएको एकीकृत बैठकमा धरानका पार्टी सदस्यहरुले सहभागिता नजनाउने भएका छन् ।
पार्टिमा विवादित दुई समुहको विवाद समाधानको लागि दुवै कमिटीको संयुक्त बैठक आज बुधबार बोलाइएको भएता पनि जेठ २ को अडानलाई कायम राखेका धरानका जिल्ला सदस्यहरुले उक्त बैठकमा सहभागी नहुने भन्दै सार्वजनिक विज्ञप्ति जारी गरेका छन् । धरानको होटल ड्रिमल्याण्डमा आयोजना गरिएको छुट्टै भेलाले आज हुने भनिएको बैठक आधिकारिक नभएको भन्दै धरानबाट उक्त बैठकमा सहभागिता नहुने निर्णय गरेका छन् । ३२ जनाको हस्ताक्षरसहित विज्ञप्ति सार्वजनिक गर्दै धरानका एमाले कार्यकताहरुले सुनसरी जिल्ला अध्यक्ष रमेश बस्नेत नै प्रदेश कार्यदलले चुनेको अध्यक्ष भएकाले सो समुहले बोलाएको बैठकमा मात्र आफूहरु सहभागी हुने विज्ञप्तिमा जनाइएको छ ।
पार्टी विधि र पद्धतिले चलाउने काम नभई एउटा अराजक झुण्डले चलाइएको र अन्तरपार्टी निर्देशन १२ लाई धज्जी उडाउने काम गरेको समेत विज्ञप्तिम आरोप लगाइएको छ । बैठकमा सहभागी भएका जेठ २ कमिटीका धरान उपमहानगर अध्यक्ष नारायण सुवेदीले पार्टीको विवाद समाधानका लागि बस्ने भनिएको बैठक आधिकारिक नभएको बताउँदै विद्रोहको रुपमा विज्ञप्ति सार्वजनिक गरिएको समेत बताएका छन् ।