विराटनगरः कारागारभित्र मौलाएको चौकीदारको ’दादागिरी’ र त्यसलाई देखेको नदेख्यै गर्ने प्रशासनको कमजोरीले विराटनगस्थित मोरङ कारागार सधैं तनावको घेरामा पर्दै आएको छ ।

कारागारमा भइरहने यस्तो तनावले कैदीबन्दीलाई असुरक्षित मात्र पारेको छैन, तिनका नातेदारलाई सधैं भयाक्रान्त पनि तुल्याउँदै आएको छ । एक साताअघि मात्रै विराटनगरका अभिषेक गिरीलाई काठमाडौंको डिल्लीबजार कारागारबाट मोरङ कारागार ल्याएपछि कैदीबन्दी आन्दोलित बने । उनीहरूको माग एउटै थियो– अवैध असुली र चरम यातना दिने गिरीलाई विराटनगर नल्याइयोस् । तिनै कैदीबन्दीको शंकाअनुसारकै घटना मंगलबार विराटनगरमा फेरि भयो । चौकीदारले यातना दिएको भन्दै अन्य कैदीबन्दी झडपमै ओर्लिए । कारागारको अवस्थाबारे जानकारहरूका अनुसार त्यहाँभित्र हुने अवैध असुली धन्दा र त्यसमा प्रशासनले गरेको नजरअन्दाज नै कारागारमा दोहोरिने तनावको मुख्य कारण हो । ’अहिले देशभरका कारागारमध्ये सबभन्दा खराब अवस्था विराटनगरमा छ,’ विराटनगरका अधिवक्ता हेमराज पन्तले भने, ’प्रशासनकै अघि चौकीदारले अलग्गै साम्राज्य चलाएका छन् । जब त्यो साम्राज्यमा खलल पर्न थाल्छ, जेलमा यस्ता घटना हुन्छन् ।’ उनले जेलभित्र हुने अमानवीय गतिविधिलाई त्यहाँको प्रशासनले आम्दानीको माध्यम ठान्ने गरेको आरोप लगाए ।

’विराटनगर कारागारमा हुने अमानवीयताको पराकाष्ठाबारे जेल प्रशासन, प्रमुख जिल्ला अधिकारी सबै जानकार छन्,’ अधिवक्ता पन्तले भने, ’तर उनीहरू चुइँक्क बोल्दैनन् । किनभने त्यहाँभित्र हुने ठूलो आर्थिक लेनदेनको सवाल छ ।’ उनका अनुसार जेलभित्र हुने व्यापार, उपभोग्य वस्तुको आपूर्ति, औषधोपचारजस्ता सबै गतिविधि चौकीदारको रेखदेखमै हुने भएकाले प्रशासनले उसैलाई सबैथोक जिम्मा लगाएको हुन्छ । त्यसैले जेलमा जे चल्छ, चौकीदारकै चल्छ । मंगलबार दिउँसो मोरङ कारागार परिसर तनावग्रस्त हुँदा बाहिर कैदीबन्दीका आफन्त झुम्मिइसकेका थिए। भित्र भइरहेको होहल्लाले उनीहरू तर्सिएका थिए । ’एक साताअघि अभिषेक गिरी ल्याउने भनेपछि हाम्रो भोक तिर्खा हराएको थियो,’ मोरङ कारागार परिसरमा भेटिएकी एक महिलाले भनिन् ’आज फेरि कुटाकुट भएछ । जेलमा पनि सुरक्षा हुँदैन भने के गर्ने हो ?’ लागुऔषध मुद्दामा सजाय काटिरहेका २७ वर्षे उनका छोरा जेलभित्र छन् । जेलमा बारम्बार हुने तनावले सधैं तर्साउने उनको भनाइ छ । ’अभिषेक गिरी आउने भनेपछि कैदीबन्दीका हामी धेरै आफन्त तर्सेका थियौं,’ ती महिलाले भनिन् ’उसलाई नल्याउने भएपछि थोरै राहत भएको थियो । अहिले फेरि अर्को चौकीदारको दादागिरी सुरू भएछ ।’

जिल्ला कारागार मोरङमा मंगलबार बिहान कैदीबन्दीबीच दोहोरो झडप भयो। त्यसको मुख्य कारण पनि चौकीदारको दादागिरी नै भएको कैदीबन्दीका आफन्त भएको बताउँछन् । आजको झडपमा घाइते हुने चौकीदार किरण गुरूङसहित १४ जना कैदीबन्दीहरूलाई स्थान्तरण गरिने भएको छ । झगडा गर्नेहरूलाई सरूवा गर्नेबित्तिकै अर्को समस्या आउने कारागारकै कर्मचारीहरू बताउँछन् । ’जसलाई चौकीदार बनायो, उसैले भित्र डनगिरी थाल्छ,’ मोरङ कारागारका एक कर्मचारीले भने, ‘प्रशासनको नेतृत्वले त्यसलाई देखेको नदेख्यै गरेपछि यस्तो घटना दोहोरिइरहन्छ ।’ यसपटक चौकीदार गुरूङसहित पाँच जनालाई झुम्का कारागार र ९ जनालाई झापा कारागार स्थानान्तरण गरिएको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । झुम्का कारागार सरुवा हुनेहरूमा शेखर राई, सुर्यदिप गुप्ता, निर्मल ढकाल र पदम कुमार लिम्बु रहेका छन् । यस्तै झापा कारागारमा नाइके र भाइ नाइकेहरू एलएक्स नेपाली, राम बहादुर लिम्बु, रोशन दाहाल, डिल्ली देवान, कपिल कुमार साह, विशाल तामाङ, रमेश मण्डल, मुस्कान भन्ने बबिहाङ राई र राजु राईलाई सरूवा गरिएको पोखरेलले जानकारी दिए ।

गुरूङको सरूवा भएपछि मोरङ कारागारको चौकीदारको जिम्मेवारी तत्कालको लागि कार्तिक कामतलाई दिइएको छ । चौधरी ज्यान मार्ने उद्योगमा जेल परेका हुन्। उनी मोरङ कारागारमा १७ वर्षदेखि रहँदै आएका छन् । गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले कैदीबन्दीहरुलाई यातना दिएको आरोपमा दुई पक्षबीच बिहान १० बजेतिर झडप भएको थियो । झडपमा परि चौकीदार गुरूङसहित ६ जना कैदीबन्दी घाइते भएका छन् । झडपमा परेर चौकीदार गुरूङसहित अरू कैदीबन्दी शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता सामान्य घाइते भएका थिए । घाइते भएकाहरूको हात, टाउको र नाकमा चोटपटक लागेको थियो । कोशीमा उपचार भएपछि उनीहरूसहित १४ जनालाई सरूवा गरिएको जेलर पोखरेलले जानकारी दिए । एक साताअघि कैदीबन्दीहरूले दिनभर जेलको छतमा चढेर प्रदर्शन गरेपछि अभिषेक गिरीलाई कारागारबाट सप्तरी सरूवा गरिएको थियो ।

गिरीले कारागारभित्र कैदीबन्दीलाई चरम यातना दिने, महँगो मूल्यमा विभिन्न उपभोग्य सामग्री किन्न लगाउने गरेकाले कैदीबन्दीले विरोध जनाएको बताएका थिए । तर, अर्का चौकीदार गुरूङले पनि कारागारभित्र मनोमानी गर्ने र कैदीबन्दीलाई चरम यातना दिने गरेको भन्दै उनको समूहसँग अरू कैदीबन्दी रूष्ट बनेका थिए । त्यही विषयमा बढेको विवादका कारण दोहोरो झडप हुँदा कारागारको अवस्था निक्कै बेर तनावपूर्ण बन्यो । स्रोतका अनुसार विवाद बढ्दै गएपछि चौकीदारको समूहविरूद्ध अर्को समूह जाइलागेको थियो । निमित्त जेलर पोखरेलले घटनाका बारेमा थप बुझ्ने प्रयास भइरहेको बताए । उनका अनुसार चौकीदारको समूहविरूद्ध अरू कैदीबन्दी आन्दोलित भएका छन् । चौकीदार गुरूङको निर्देशनमा कारागारका नाइके र भाइनाइकेहरूले कुटपिट गर्ने तथा यातना दिने एवं अत्याचार गर्ने गरेको भन्दै अरू कैदीबन्दी आन्दोलित बनेपछि झडपको अवस्था उत्पन्न भएको कारागार प्रशासनले जनाएको छ ।

आन्दोलित बनेका कैदीबन्दीले गुरूङसहित १४ जना कैदीबन्दीलाई कारागारभित्रकै एउटा कोठामा केही बेर थुनेरसमेत राखिदिएका थिए । कारागारभित्र चौकीदारले नाइके र भाइ नाइके चयन गर्दछन् । १० जना कैदीबन्दी बराबर एक जना भाइ नाइके हुन्छ । २० देखि २५ जना कैदी बन्दी बराबर नाइके बन्ने कानुनी व्यवस्था रहेको छ । कारागारभित्र नाइके र भाइ नाइकेहरूले चौकीदारको निर्देशनअनुसार कैदीबन्दीहरू आफ्नो पकडमा राख्ने गर्दछन् । मोरङ कारागारमा ८ सय ९७ जना पुरुष कैदीबन्दी छन् भने ७२ महिला छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल भने क्षमताभन्दा धेरै कैदीबन्दी हुनु नै जेलमा बारम्बार निम्तिने तनावको मुख्य कारण भएको दाबी गर्छन् । ’क्षमताभन्दा धेरै बढी कैदीबन्दी भएपछि यस्तो भएको हो,’ जेलबारे प्रशासनका अधिकारीहरुले सधैं दिने रेडिमेड उत्तर दिँदै उनले थपे ’अन्यथा यस्तो अवस्था नआउनुपर्ने हो ।’ जेलभित्र हुने ’दादागिरी’ र असुलीबारे भने आफूलाई केही थाहा नभएको उनको दाबी छ । ’त्यसबारे हामीलाई केही जानकारी छैन,’ उनले भने । -सेतोपाटीबाट