इटहरीः इटहरी उपमहानगरपालिकाभित्र व्याप्त भ्रष्टाचार र अनियमितताविरुद्ध विपक्षी पाँच दलले मोर्चाबन्दी गरी भण्डाफोर गर्ने भएका छन् ।

नगर सरकारले स्वेच्छाचारी शैलीमा कार्यसम्पादन गरी जनतालाई अन्योलमा पार्ने काम गरेकाले सोको सशक्त प्रतिरोध गर्न विपक्षी दलहरु एकजुट भएका हुन् । छठ पर्वको पूर्वसन्ध्यामा नेकपा एकीकृत समाजवादी पार्टीको इटहरी नगर कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा बोल्ने विभिन्न दलका नेताहरुले सरकारका गलत कामको भण्डाफोर गर्ने बताएका हुन् । समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेलले इटहरी नगरको उत्थानका लागि सबै मिलेर निःस्वार्थ रुपमा कर्म गर्नुपर्ने बताए । इटहरीका विषयमा फराकिलो ढङ्गले सोचेर विज्ञको समूह बनाई गर्न सकिने कामको अध्ययन गरी तथ्यपरक ढङ्गले काम गर्नुपर्ने धारणा पौडेलले राखे । गर्नै नसक्ने कामको आश्वासन मात्र दिएर कसैले केही नपाउने उनको भनाइ थियो । संविधानको पालना मात्र गरेको भएपनि जनताको अधिकार धेरै हदसम्म प्रत्याभूत हुनेमा सत्तारुढ दलले संविधानकै मर्मविपरीत काम गरेकाले जनताका अधिकार कुण्ठित हुन पुगेको पौडेलले उल्लेख गरे ।

250970012_737373590991626_8455153078196341789_n

यस्तै नेकपा माओवादी केन्द्रका इटहरी नगर अध्यक्ष बहादुरसिंह तामाङ (ज्वाला) ले इटहरी पमहानगरपालिकाभित्र सरकारले कामभन्दा बढी काण्ड मच्चाएको बताए । इटहरीमा पनि ओली प्रवृत्ति मौलाएकोले त्यसका विरुद्ध पाँच दलीय गठबन्धनले संयुक्त रुपमा खबरदारी गर्ने बताए । एमालेको जालझेल र कपटपूर्ण राजनीतिका कारण जनता भ्रमित रहेको, उपमहानगरपालिका सञ्चालन गरिरहँदा व्यापक अनियमितता र साधन स्रोतको दुरुपयोग गर्दै भ्रष्टाचार, नातावाद र कृपावाद मौलाएकोले ५ दलीय गठबन्धनको साझा धारणासहित आउने सबैखाले चुनाबाट एमालेलाई बढार्नुपर्ने उल्लेख गरे । यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका इटहरी नगर इन्चार्ज केवल फुयाँलले आगामी दिनमा इटहरीको भाग्य र भविष्यका लागि सबै पार्टी मिलेर संयुक्त अवधारणा बनाएर काम गर्नुपर्ने बताए । बढ्दो भ्रष्टाचार र अराजकताले आफूजस्ता बौद्धिक व्यक्तिलाई राजनीतिको मैदानमा उत्रन बाध्य पारेको उनको भनाइ थियो ।

254549499_758851168845764_5218698619035088811_n

 

यस्तै, जनता समाजवादी पार्टीका इटहरी नगर अध्यक्ष डिल्ली सुब्बाले वर्तमान सत्ता गठबन्धनको निर्माणमाथि शंका व्यक्त गरे । गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक हो भन्ने कुरा रहस्यमय रहेको उनको कथन थियो । आफ्नो पार्टी फरक विचारबाट निर्देशित भएकाले सो विचार गठबन्धनले आत्मसात गर्ने हो वा होइन भन्ने अन्योल उत्पन्न भएको उनले बताए । उपमहानगरपालिकाभित्र रहेका विकृतिको उन्मुलनमा भने आफूहरुले सहकार्य गर्ने उनले स्पष्ट पारे । जनताको प्रतिनिधि रहेको प्रतिनिधिसभा विघटन गर्न दुई पटकसम्म दुस्प्रयास गर्ने पार्टी अध्यक्ष खड्ग प्रसाद ओलीको संविधान माथिको बल मिच्याइँ र गणतन्त्र र संघीयता नष्ट गर्ने तरिकाको ब्यक्तीवादी चिन्तनलाई ५ दलीय गठबन्धनले ओली प्रवृत्ति घोषणा गरिसकेकोले उनका समर्थक गुटका कोही कसैलाइ पनि कुनैपनि सभा सम्म्मेलनमा स्थान नदिई बहिष्कार गर्ने अभियान नै चलाएको कार्यक्रम आयोजक पार्टीका जिल्ला सहसचिव राजेश भण्डारीले बताए ।

249913600_3776244152601763_7295330074406122651_n

 

नेकपा एकीकृत समाजवादी पार्टी इटहरी नगर पार्टी प्रचार विभाग प्रमुख तथा जिल्ला सचिवालय सदस्य पीबी दियालीले केन्द्रीय राजनीतिमा ५ दलीय गठबन्दनले खेल्दै गरेको भूमिकालाइ स्थानीय तहमा पनि अनुसरण गर्दै अघि बढेर प्रतिगामीका मतियारहरुलाइ निरुत्साहित पार्नु अहिलेको आवश्यकता रहेको बताए । उनले हरेक पार्टीबीच आपसी समन्वय र सद्भाव कायम राख्दै गठबन्धनको सँस्स्कृतिलाइ निरन्तरता दिन इटहरीमा सकृय नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टिका अतिथि नेताहरुको ध्यानाकर्षण गराए । नेकपा एकीकृत समाजवादी पार्टीका सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौलाको प्रमुख आतिथ्य तथा नगर अध्यक्ष गणेश बुढाथोकीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रम नेकपा एकीकृत समाजवादी पार्टीका इटहरी नगर सचिव वसन्त श्रेष्ठले सञ्चालन गरेका थिए ।

252082508_2611878682288819_5410420704114968893_n 252247331_2999431727052399_2712103306993421183_n 251391240_1420351328360204_3794798170960588452_n 254860353_1022523981879273_7089532366905930529_n