इटहरीः प्रदेश नम्बर १ मा मात्र एक वर्षको अवधिमा १० अर्ब ३७ करोड रुपैयाँ बराबरको पुनर्कर्जा प्रवाह भएको छ ।
नेपाल राष्ट बैंकले जनाएअनुसार आर्थिक वर्ष २०७७ ७८ मा पुनर्कर्जाको परिचालन अघिल्लो आर्थिक वर्षको भन्दा ९ अर्ब ५१ करोड रुपैयाँले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७ को असार मसान्तमा यस्तो कर्जा ८६ करोड रुपैयाँ मात्र परिचालन भएको थियो । नेपाल राष्ट बैंकले कोरोना महामारीबाट थिलथिलो भएको व्यवसायलाई माथि उकास्नका लागि पुनर्कर्जालाई सहज बनाएपछि यसमा उल्लेख्य आकर्षण बढेको हो । अघिल्लो वर्षको तुलनामा प्रदेश १ का बैंक तथा वित्तीय सँस्थामा निक्षेप र कर्जा दुवैको प्रवाहमा वृद्धि भएको छ । २०७७ असार मसान्तको तुलनामा २०७८ असारमा बैंक तथा वित्तीय सँस्थाले परिचालन गरेको निक्षेपमा २४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।
२०७८ असार मसान्तमा प्रदेश १ मा ३ खर्ब ४६ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन भएको थियो । यस अवधिमा बैंक तथा वित्तीय सँस्थाले ४ खर्ब ८० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए । बैंक तथा वित्तीय सँस्थाले प्रवाह गरेको सो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा २६ दशमलव ४ प्रतिशतले बढी हो । बैंक तथा वित्तीय सँस्थाले प्रदेश १ मा सबैभन्दा बढी सेवा क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षमा प्रदेशका बैंक वित्तीय सँस्थाले ५९ दशमलव ७ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह गरेका थिए । एक वर्षको अवधिमा प्रदेश १ मा मात्र बैंक तथा वित्तीय सँस्थाका १ सय ३४ वटा नयाँ शाखा कार्यालय खुलेका छन् । जसले सर्वसाधारणमा वित्तीय पहुँचको वृद्धि गरेको छ भने बैंक तथा वित्तीय सँस्थामा समेत प्रतिस्पर्धाको वातावरण सिर्जना गराएको छ ।