इटहरीः आर्थिक वर्ष २०७७÷ ७८ मा अघिल्लो आर्थिक वर्षको तुलनामा कृषि कर्जा लिने ऋणिको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ को समीक्षाअनुसार एक आर्थिक वर्षमा कृषि कर्जा ४१ दशमलव ७ प्रतिशतले बढेको छ । कृषि कर्जा लिने व्यवसायीको वृद्धिसँगै छिटो उत्पादन लिन सकिने कृषि कर्मको वृद्धि हुँदा दुध, माछा, अण्डाजस्ता उपभोग्य वस्तुको उत्पादनमा समेत वृद्धि भएको छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरुले २०७८ असार मसान्तमा कुल प्रवाह गरेको कर्जाको ९ दशमवल ८ प्रतिशत कर्जा कृषि क्षेत्रमा गएको छ । आर्थिक वर्ष २०७७÷ ७८ मा प्रदेश १ मा धान गहुँ, कोदोको उत्पादनमा भारी गिरावट आएको छ भने माछा, दुध र अण्डाको उत्पादनमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रदेश १ को समग्र अध्ययन प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा कृषिजन्य वस्तुको उत्पादन उल्लेख्य मात्रामा घटेको देखाएको छ । समग्र कृषि बालीले ढाकेको भूभाग भने ० दशमलव १ प्रतिशतले बढेको छ तर कृषि बालीको उत्पादन भने ० दशमलव ८ प्रतिशतले घटेको पाइन्छ ।

सो अवधिमा धानको उत्पादन २ दशमलव ४ प्रतिशत, मकैको उत्पादन १ दशमलव २ प्रतिशत र गहुँको उत्पादन ४ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा तरकारी र मसलाको उत्पादनसमेत घटेको नेपाल राष्ट बैंकले गरेको स्थलगत अध्ययन प्रतिवेदनले जनाएको छ । समीक्षा अवधिमा तरकारीको उत्पादन १ दशमलव २ प्रतिशतले घटेको छ भने फलफूल र मसलाको उत्पादनमा ५ दशलव ९ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७ ७८ मा दुधको उत्पादनमा २ दशमलव १ प्रतिशतले तथा अण्डाको उत्पादन ८ प्रतिशतले र माछाको उत्पादन ६९ दशमलव १ प्रतिशतले बढेको छ । देशमा कोरोनाको कहर र कृषिमा युवाको लहर बढेपछि प्रदेश १ का विभिन्न जिल्लामा संघीय सरकारको अनुदान तथा प्रदेश सरकारको अनुदानमा माछाको पोखरी निर्माणमा तीव्रता आएको समेत पाइएको छ ।

यसरी पोखरीको वृद्धि हुँदा माछाका भुराहरुको उत्पादन तथा वितरणमा समेत बढोत्तरी भएका कारण माछाको उत्पादनमा वृद्धि भएको अध्ययन प्रतिवेदनले देखाएको छ । यसैगरी, प्रदेश १ मा काठको उत्पादनमा समेत ३९ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । काठको उत्पादनसँगै दाउराको उत्पादन बढेको छ । दाउराको उत्पादन १२ दशमलव ७ प्रतिशत र औषधिजन्य उत्पादन ४५ दशमलव ४ प्रतिशतले बढेको पाइएको छ । अघिल्लो आर्थिक वर्षमा कोरोना महामारीका कारण डिभिजन वन कार्यालयले रुख काट्न रोक लगाएको र आर्थिक वर्ष २०७७ ÷७८ मा रुख काट्ने स्वीकृति दिएका कारणले काठ उत्पादन बढेको राष्ट बैंकको बुझाइ छ ।