इटहरीः सरकारले प्रदेश १ सहित तीन ओटा प्रदेशका प्रदेशप्रमुख परिवर्तन गरेको छ ।

संघीय मन्त्रिपरिषद्को हिजोको बैठकले प्रदेश १ का प्रदेशप्रमुख सोमनाथ अधिकारी (प्यासी), कर्णाली प्रदेशका प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशका प्रदेशप्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गर्दै नयाँ प्रदेशप्रमुख नियुक्तिका लागि सिफारिस गरेको हो । प्रदेशप्रमुखको नियुक्तिका लागि प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ को प्रदेशप्रमुखमा सिफारिस गरिएका पूर्वसभासदसमेत रहेका खापुङ जनता समाजवादी पार्टीका नेता हुन् । कर्णालीको प्रदेश प्रमुखमा सिफारिस भएका तिलक परियार यसअघि प्रदेश २ को प्रमुख थिए । माओवादी केन्द्र निकट उनलाई यसअघि केपी ओली सरकारले बर्खास्त गरेको थियो । सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद जोशी प्रदेश प्रमुख भएका छन् । नयाँ प्रदेश प्रमुखहरूलाई राष्ट्रपतिले नियुक्त गरेपछि सपथग्रहण हुनेछ । यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि सरकारले परिवर्तन गरेको थियो ।