इटहरीः सुनसरीको धरान उपमहानगरपालिका १५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ घर भएकी ३४ वर्षीया छुङकु राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार श्रीमानको कुटाइबाट घाइते भएकी राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक १८ गते साँझ ६ः०० बजे घरायसी विवादका क्रममा ४१ वर्षीय श्रीमान महेन्द्रको कुटाइबाट घाइते भएकी राईको हिजो मृत्यु भएको एसपी राईले जानकारी दिए ।

कुटपिटबाट महिलाको ज्यान गएपछि कुटपिट गर्ने निजका श्रीमान महेन्द्रलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले नियन्त्रणमा लिई जिल्ला अदालत सुनसरीको आदेशमा कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोस्टमार्टमका लागि बीपी प्रतिष्ठानमै राखिएको छ ।