इटहरीः सगरमाथा क्षेत्रमा १३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको छ । ६ हजार ७८३ मिटर उचाइमा पर्ने खाङतेगा हिमाल आरोहणका क्रममा बेपत्ता बनेका तीन जना फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
उनका अनुसार तालिम प्राप्त १४ जना फ्रान्सेली नागरिकसहितको टोली आइतबार हेलिकोप्टरमार्फत खुम्बु आएको छ। सो टोलीले सोमबारदेखि काम सुरु गरेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।
आइतबार मौसम प्रातिकूल बनेकाले खोजी कार्य सुरु हुन नसकेको उनको भनाइ छ । होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत तीन जना बेपत्तासहित ८ जनाको टोली माउन्ट खाङतेगा हिमाल आरोहणका लागि असोज १८ गते लुक्ला आएको थियो। तीमध्ये थोमस, गाब्रियल र लुइस नाम गरेका नागरिक बेपत्ता छन् ।
कोरोनाको जोखिम कम भएसँगै खुम्बु क्षेत्र भ्रमणमा आउनेक्रम बढेको छ ।