इटहरीः हिजो साँझ मोरङ, झापा र उदयपुरमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनाबाट ७ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाइते भएका छन् ।

हिजो साँझ ६ः०० बजे मोरङको केराबारी गाउँपालिका ९ बेलचौरी मा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को ४० प १७२७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जादै गरेको बा.१० च.४३०० नम्बरको स्कारपियो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमा नै र एक जनाको उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृत्यु हुनेमा चालक लेटाङ नगरपालिका २ का ३० वर्षीय कमल कार्की र पछाडि सवार पथरीशनिश्चरे नगरपालिकाका ५५ वर्षीय तिलकबहादुर सुवेदीको घटनास्थलमै मृत्यु भएको हो भने पछाडि सवार लेटाङ नगरपालिका २ की ४५ वर्षीया सीता कार्की बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा साँझ ७ः१५ बजे मृत्यु भएको हो । गाडी र गाडी चालक लेटाङ नगरपालिका २ का ४७ वर्षीय पुष्पबहादुर मगर इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन् ।

यस्तै, हिजो साझ ५ः४५ बजे मोरङ रंगेली नगरपालिका ६ टकुवा–पिपल चौक भित्री सडकखण्डमा साइकल यात्री मोरङ सुनवर्षी नगरपालिका ६ पटियापाडा का ३० वर्षीय सत्रुघन साहको साइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भई उपचारको लागी रंगेली अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । यस्तै, हिजो साँझ ६ः०० बजे उदयपुरको त्रियुगा नगरपालिका ११ मेन चोकमा पूर्वतर्फ जाँदै गरेको स १ ह १६२० नम्बरको अटो र पिपल चोकबाट पूर्वतर्फ जाँदै गरेको को १९ प ९६४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार त्रियुगा नगरपालिका ११ का ८५ वर्षीय कुलप्रसाद भण्डारी रहेका छन् । उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा राति साढे ९ बजे मृत्यु भएको हो भने मोटरसाइकल चालक सप्तरी कञ्चनरुप नगरपालिका १२ का ५२ वर्षीय कमलप्रसाद पोखरेल र अटो चालक उदयपुर चौदण्डीगढी नगरपालिका ७ का ४२ वर्षीय नरबहादुर कार्की सामान्य घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । दुवै सवारी साधन जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेका छन् ।

यस्तै, हिजो साँझ ६ बजे झापाको बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टि स्टेटअगाडि पूर्व–पश्चिम राजमार्गमा नम्बर नखुलेको रातो रंगको २२० सीसी पल्सर मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–०१४ प ६००७ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक मेची नगरपालिका १० का ४२ वर्षीय डिल्ली कार्की, पछाडि सवार उनका छोरा १६ वर्षीय मनिस कार्की र अर्को मोटरसाइकल पछाडि सवार झापा हल्दिबारी गाउँपालिका २ का २१ वर्षीय पिजेश लामा घाइते भई उपचारको लागी बीएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो । घाइतेमध्ये स्कुटीको पछाडि सवार रहेका मनिसको राति ९ः०० बजे उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटना गराउने अर्को मोटरसाइकल चालक झापा हल्दिबारी गाउँपालिका २ का २५ वर्षीय उमेश लामा मोटरसाइकलसहित फरार रहेकाले खोजतलास भइरहेको छ ।

यस्तै हिजो राति ११ः३० बजे झापा मेचीनगर नगरपालिका १३ तेलिबारीस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जादै गरेको प्रदेश–१–०४–०१४प.३३४५ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ३९९५ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाइते भएका थिए । घाइते हुनेहरुमा ३३४५ नम्बरको मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका ८ का २१ वर्षीय अनिष गिरी, पछाडि सवार सोही स्थानका १८ वर्षीय अभिषेक श्रेष्ठ, ३९९५ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिकाका २१ वर्षीय निकेश शिवकोटी र पछाडी सवार झापा मेचीनगर नगरपालिका ८ का २१ वर्षीय प्रविण मेचे रहेका छन् । घाईतेमध्ये अभिषेक श्रेष्ठको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राति १२ः३० बजे मृत्यु भएको छ भने बाँकी ३ जना घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।