इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले गत आर्थिक बर्षमा झण्डै २६ लाख रुपैयाँ बराबरको रकम पाडा र बाच्छीमा खर्च गरेको पाइएको छ ।
एपमहानगरपालिका सार्वजनिक निकाय भएकाले कुनै पनि मालसामान खरिद गर्नुअघि त्यो सामानको प्राविधिक स्पेसिफिकेसन र गुणस्तर मापदण्डबमोजिम भएनभएको निरीक्षण गराउनुपर्ने नियम भएता पनि त्यसो नगरी २५ लाख ७० हजार रुपैयाँ बराबरको रकम बाच्छी र पाडामा खर्च गरेको पाइएको हो । पलिकाले ७५ वटा कोरली बाच्छी २४ हजार रुपैयाँका दरले १८ लाख रुपैयाँमा खरिद गरी इटहरी गाईपालन समूहलाई दिएको पाइएको छ भने पितौला कृषि तथा पशुपालन फर्मबाट १० वटा र जम्मा ७२ वटा पाडालाई ७ लाख ७० हजार तिरेर खरिद गरेको थियो । महालेखाले भने जुनसुकै प्रयोजनको लागि पाडा र बाच्छा खरिद गरिएको भएता पनि पाडा र बाच्छाहरुको गुणस्तर भएनभएको तथा स्वस्थ भएको प्रमाण पेस नगरिएको भन्दै उपमहानगरलाई प्रश्न गरेको छ । महालेखाले उपमहानगरलाई त्यसको प्रमाण पेस गर्न निर्देशन गरेको छ भने उक्त रकमलाई बेरुजुमा देखाएको छ ।
फिर्ता आएन पाडापाडी किनेको पेस्की रकम
इटहरी उपमहानगरपालिकाले पाडा पाडि खरिद गर्दा दिएको पेस्की बापतको रकम फिर्ता नहुँदा पचास हजार रुपैयाँ बेरुजु देखिएको छ । उपमहानगरले पाडापाडी मुल समितिको लागि पितौला कृषि तथा पशुपालन फार्मबाट १० वटा पाडा र ७२ वटा पाडि खरिद गर्दा जम्मा ७ लाख ७० हजार रुपैयाँ खर्च गरेको थियो । जसमा मुल खर्च ७ लाख ७० हजार र ढुवानी खर्च गरी जम्मा ९ लाख खर्च भएको देखिएको छ । पाडापाडी समितिले ९ लाख ५० हजार रुपैयाँ पेस्की लगेको भएपनि खर्च गरेर बचेको ५० हजार पेस्की फिर्ता नगरेको पाइएको छ । महालेखाले ५० हजार फिर्ता नगरी सबै रकम पेस्की फछ्र्यौट गरेको देखिएकाले ५० हजार रुपैयाँ फिर्ता गरी स्थानीय सञ्चित कोषमा जम्मा गर्न उपमहानगरपालिकालाई निर्देशन दिएको छ ।
नियमविपरीत नर्सरीलाई बाँडियो ८ लाख
इटहरी उपमहानगरपालिकाले पूर्वस्वीकृतिबिना नै सार्वजनिक खरिद नियमावलीविपरीत एउटै कामलाई टुक्राटुक्रा पारेर ८ लाखभन्दा ठूलो रकम सिद्ध्याएको पाइएको छ । सार्वजनिक खरिद नियमावलीमा एक लाख रुपैयाँ सम्मको काम एक तह माथिका कर्मचारीको स्वीकृति लिएर गर्न सक्ने व्यवस्था भएपनि उपमहानगरले पूर्वस्वीकृतिबिनै कर्मचारीलाई पेस्की दिएर फूलबिरुवा रोपण कार्य भन्दै ८ लाख ३१ हजार ७ सय ७३ रुपैयाँ विभिन्न ४ वटा फर्मलाई भुक्तानी दिएको छ । महालेखा परीक्षकको ५८ औँ प्रतिवेदन अनुसार अमानतबाट गराएको यो बेरुजु रकम इटहरी उपमहानगरपालिकाले २०७७ साल असार महिनाको १० गतेदेखि २४ गते सम्ममा सकाएको पाइएको छ । सानातिना प्रकृतिको काम पालिकाले अमानतबाट एक तह माथिका कर्मचारीको स्वीकृति लिएर गराउन सक्छन् तर त्यसको सीमा १ लाख रुपैयाँ मात्रको छ ।
तर इटहरी उपमहानगरले भने ८ लाखभन्दा ठूलो रकममा समेत पूर्वस्वीकृतिबिनै कर्मचारीलाई पेस्की दिएर फूलबिरुवा रोपण कार्यको नाममा टुक्राटुक्रा पारेर खर्च गरेको छ । यसरी गरिएको खर्च भौचर नम्बर १५४४ मा २०७७ साल असार १० गते पुष्पनारायण चौधरी नामका कर्मचारीले इटहरी मार्वल हाउसको नाममा १ लाख १ हजार ७ सय रुपैयाँ र न्यु पशुपति नर्सरी फूलबिरुवा को नामबाट सोही मितिमा २ लाख ८ हजार ८ सय ८८ रुपैयाँ पेस्की भुक्तानी लिएका छन् भने सोही कर्मचारीले २०७७ असार २४ गते भौचर नम्बर १७९९ बाट २ लाख ७ हजार ५ सय ५० रुपैयाँ न्यु पशुपति नर्सरीकै नाममा भुक्तानी लिएका छन् । उता भौचर नम्बर १८६२ बाटसमेत पुष्पनारायण चौधरीले अर्जुन नर्सरी उद्योगलाई ३ लाख १३ हजार ६ सय ३५ रुपैयाँ भुक्तानी दिएको पाइएको छ ।