सोलुखुम्बुः सोलुखुम्बुको मेरापिक क्षेत्रमा एक विदेशी आरोहीको मृत्यु भएको छ ।
आज मेरापिक आरोहण गरेर फर्कने क्रममा लडेर बेलायती नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । हाइक्याम्पमा लडेर ३९ वर्षीय बेलायती नागरिक फायन एलेक जार्नाड क्रिस्टायनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । उनका अनुसार चिप्लिएर लडेका क्रिस्टायन बेहोस बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी लुक्लाको पासाङल्हामु निकोलनिकी अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको हो ।
शव परीक्षणका लागि काठमाडौँ लाने तयारी गरिएको भए पनि मौसम प्रतिकूलताका कारण हेलिकप्टरले उडान भर्न नसक्दा लुक्लामा नै राखिएको बताइएको छ । क्रिस्टायनसहितको टोली हिमालय स्टेट कम्पनी लिमिटेड काठमाडौँमार्फत् कात्तिक १० गते मेरापिक पुगेका थिए । यस्तै यही कात्तिक २ गते सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ चाचालुङ ठेगाना भएका २५ वर्षीय पर्यटक भरिया जीवन कुलुङको पनि लेक लागेर मृत्यु भएको थियो । त्यही दिन मेरापिक आरोहणमा गएका २९ वर्षीय छेतेन शेर्पा भारी हिमपातका कारण बेपत्ता बनेका थिए । उपकरणसहितको अन्तर्राष्ट्रिय माउन्टेन गाइडको टोलीले खोजतलास गरेको भए पनि उनको अवस्था अझै अज्ञात छ । -रासस