इटहरीः ‘गोर्खा वारियर–२’को लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको लागि आवश्यक गोर्खा सैनिकदेखि विभिन्न पात्रको भूमिकाको लागि अडिसन राखिएको थियो ।
सो अडिसनमा सहभागी भएका एक सयभन्दा बढी व्यक्तिमध्येबाट ३४ जना चयन भएका हुन् । यो चलचित्रको निर्माता निर्देशक मिलन चाम्स, द्वन्द्व निर्देशक हिमाल केसी, छायांकार सुदीप बराल, मुख्य सहायक निर्देशक गिरिराज घिमिरेको टिमले अडिसनबाट ३४ जना कलाकार चयन गरेको हो । छानिएका मध्य अधिकांश कलाकार गोर्खा सैनिकको भूमिकामा हुनेछन् । यो चलचित्रको छायांकन कोभिड–१९ र विभिन्न प्राविधिक कारणले यसअघि रोकिएको थियो । अब बाँकी छायांकन तिहारको लगत्तै पछिबाट सिन्धुलीदेखि सुरु हुने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् । त्यसपछि बाँकी छायांकनको लागि युनिट तनहुँ जानेछ । यसअघि सोलुखुम्बुसहित नेपालका केही स्थानमा यो चलचित्रको छायांकन गरिएको थियो । नेपालको छायांकन सकिएपछि बेलायत, भारत, मलेसिया लगायतका देशमा बाँकी छायांकन सम्पन्न गरिने पनि निर्देशक चाम्सले जानकारी गराएका छन् । यो चलचित्रको छायांकनको लागि लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केही प्राविधिक सामग्री दसैँअघि नै नेपाल आइसकेको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई छन् । गोर्खा वारियर २ मा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ । रितेश चाम्सले नवनायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दै छन् । यो चलचित्रमा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ । चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले आफुले गोर्खा वारियर–२ छायांकन सुरु गरेको निर्देशक चाम्सले बताए । अब सिनेमा हलमा पनि गोर्खा वारियर २ रिलिज भएपछि मात्र गोर्खा वारियरको निर्माण सुरु हुनेछ । यो चलचित्रलाई सन् २०२२ मै रिलिज गरिने छ ।