इटहरीः इलामको देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका दुई घरमा विद्युत् सर्ट भई आगलागी हुँदा ६७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

देउमाई नगरपालिका–२, महभिरका चन्द्रप्रसाद पौडेलको घरमा आगलागी हुँदा ६१ लाख रुपैयाँबराबरको क्षति भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार पसल, दुग्ध डेरीलगायत रहेको दुुईतल्ले घरमा आगलागी भएको थियो ।

आगलागीबाट घरमा रहेको १० तोला सुन, पाँच लाख नगद, पसलका सामग्री जलेर नष्ट भएको उनको भनाइ छ । यसैगरी, माङ्सेबुङ गाउँपालिका–२, भोटेडाँडामा रहेको अर्को एक घरमा आगलागी हुँदा छ लाख रुपैयाँबराबरको क्षति भएको छ । आगलागीबाट घर र त्यहाँ रहेको पसलमा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।