झापाः झापाको दमक–३, बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई छाप्रामा गएराति आगलागी भएको छ ।
आगलागीबाट छाप्रा पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाई प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए । उनका अनुसार शिविरका मधु चापागाईं र अमरबहादुर मगरको घर पूर्णरूपमा क्षति भएको छ । दमकस्थित इलाका प्रहरी कार्यालयको टोली, बेलडाँगी सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।
एकाईका प्रमुख दाहालका अनुसार लक्ष्मीपूजामा दियो बाल्ने क्रममा अमरबहादुर मगरको घरबाट आगो सल्किँदा छिमेकी चापागाईँको पनि छाप्राका भाँडावर्तन, खाद्यान पूर्णरूपमा नष्ट भएको थियो । -रासस