इटहरीः मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ मा स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका वडाध्यक्षका उमेद्वार अर्जुन तामाङसहित तीन दर्जनभन्दा बढी नेकपा एमाले प्रवेश गरेका छन् ।
बिहीबार नेकपा एमाले मिक्लाजुङ गाउँ कमिटी मोरङद्वारा आयोजित शुभकामना आदानप्रदान÷पार्टी प्रवेश कार्यक्रममा तीन दर्जनभन्दा बढी माओवादी केन्द्रका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडा, विशिष्ट अतिथि प्रदेश कमिटी सदस्य रामकृष्ण राई, भुपेन्द्र लावती ,दहशेर राई लगायत जिल्ला कमिटी सदस्यद्वय नरेन्द्र ढुङ्गेल र देवी आचार्य लगायतले अबिर तथा खादा लगाएर एमालेमा स्वागत गरेका थिए । विशेष गरी माओवादी केन्द्रका वडा नम्बर ४ का अर्जुनकुमार तामाङसहित तीन दर्जन माओवादी केन्द्रका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेकोमा नेताहरुले स्वागत गरेका हुन् ।
साथै मिक्लाजुङका विभिन्न वडाबाट नेपाली कांग्रेस, राप्रपा लगायतका पार्टीबाट दर्जनौँ नेता कार्यकर्ता पार्टी प्रवेश भएको मिक्लाजुङ अध्यक्ष बुद्धिमान लिम्बूले जानकारी दिएका छन् । साथै निकट समयमै प्रवेश गर्न छुट्नेहरुलाई नेकपा एमालेमा जोड्ने कार्यक्रम रहेको नेकपा एमाले मिक्लाजुङका सचिव नविन कार्कीले बताए । नववप्रवेशीलगायत सम्पूर्ण सदस्यहरुमा धन्यवादका साथै शुभकामना भन्दै सदैव नेकपा एमाले मिक्लाजुङ गाउँ कमिटीमा रहने नरहनेहरुको सुख दुःखमा एमाले साथी र सारथी भएर जनताका काममा लागेर अघि बढिरहने सांसद खतिवडाले बताए ।