इटहरीः नेकपा एकीकृत समाजवादीको इटहरी उपमहानगर कमिटीले सार्वजनिक देउसी कार्यक्रम सम्पन्न गरेको छ ।
समाजमा रहेको विकृतिविरुद्ध व्यङ्ग्य गर्दै समाजवादको अवधारणा सर्वसाधारणमा अवगत गराउने उद्देश्यले आफ्नै परिकल्पनाका आधारमा सार्वजनिक देउसी कार्यक्रम आयोजना गरेको सो पार्टीका इटहरी नगर इन्चार्ज केवल फुयाँलले जानकारी दिए । उनका अनुसार पार्टीले पछिल्लो पटक गर्नु परेको विद्रोहको कारणबारे पनि देउसीमार्फत् जानकारी दिने प्रयत्न गरिएको थियो । पार्टीका २ नम्बर वडा इन्चार्ज आत्माराम धमलाको घरमा आयोजित देउसी कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष गोविन्द निरौला, डा.दीवाकर रेग्मी, ठमनाथ लम्साल, कमला दुलाललगायत विभिन्न तहका नेता कार्यकर्ता तथा सर्वसाधारणको उपस्थितिमा हर्षोल्लासपूर्वक सम्पन्न भएको नगर इन्चार्ज फुयाँलले जानकारी दिए ।
संक्षेपमा यस्तो थियो देउसी कार्यक्रमको भाषाः
आहै झिलिमिली झिलिमिली, देउसी रे
ए के को झिलिमिली, देउसी रे
ए फूलको झिलिमिली, देउसी रे
ए नेपाल देश, देउसी रे
ए सुन्दर देश, देउसी रे
ए इतिहासदेखि, देउसी रे
ए स्वतन्त्र देश, देउसी रे
ए सुन्दर देश, देउसी रे
ए गन्तव्य हाम्रो, देउसी रे
ए समाजवादसम्म, देउसी रे
ए साम्यवादसम्म, देउसी रे
आयौँ खेल्न देउसी र भैलो
समाजवादी गरौँ रमाइलो
हे हे हे दुईतिहाइ सरकार पनि भयो प्रतिगामी
त्यही कुरामा विमति भई फरक भयौँ हामी
ए यो भ्रष्ट पूँजी, देउसी रे
ए दलाल पूँँजी, देउसी रे
ए माफियातन्त्र, देउसी रे
नीति, विधि, पद्धतिलाई आफ्नै पेवा ठानी
जनमतलाई धोका दिए तिनले जानिजानी
कम्युनिस्ट अनुशासन पारी धुजाधुजा
गर्दै हिँड्छन् आज तिनी माफियाको पूजा
ए हाम्रा पुर्खाले, देउसी रे
ए सिर्जेको जमिन, देउसी रे
ए जोडेको मन, देउसी रे
ए जोगाउन खातिर, देउसी रे
ए लड्नु छ साथी, देउसी रे
ए जुट्नु छ साथी, देउसी रे
ए हिजो जुटेथ्यौँ, देउसी रे
ए राणाशाही ढाल्यौँ, देउसी रे
ए पञ्चायत फाल्यौँ, देउसी रे
ए राजतन्त्र फाल्यौँ, देउसी रे
ए प्रतिगमन फाल्यौँ
यसका साथै सो देउसी टोलीले निम्नानुसार आशीष प्रदान गरी देउसी कार्यक्रम सम्पन्न गरेको थियोः
आहै आशीष दिउँ है, देउसी रे
ए दुई हात जोडी, देउसी रे
ए यसैमा घरका, देउसी रे
ए नेपाल देशका, देउसी रे
ए सन्तान सारा, देउसी रे
ए फैलँदै जाउन्, देउसी रे
ए यसैमा घरमा, देउसी रे
ए नेपाल देशमा, देउसी रे
ए समृद्धि छाओस्, देउसी रे
ए भलोमा होओस्, देउसी रे......