देश कोरोनाले पूर्ण लकडाउनमा भइरहँदा प्रायः सबै क्षेत्र बन्द रहे । तर द प्राइड हस्पिटालिटीले त्यतिबेलै खुल्ने आँट गर्यो । प्राइड हस्पिटालिटी सुन्दा अप्ठ्यारोजस्तै लागे पनि आफ्नै देश नेपालमा नेपाली व्यवस्थापनबाट खुलेको होटल तथा हस्पिटालिटी म्यानेजमेन्ट कम्पनी हो । होटलको कन्ट्रक्सनदेखि लिएर डिजाइन, सेटअप, प्रि ओपनिङ्ग र व्यवस्थापन पूरै हेर्न सक्षम जनशक्ति भएको प्राइड हस्पिटालिटीसँग अहिले ८ वटा होटलले व्यवस्थापन हेर्ने समझदारी गरेका छन् । पूर्वको सुन्दर शहर इटहरीको गोरखा होटलसँग व्यापार सम्झौता गरेर पूवी नेपाल छिरेको प्राइडले हालै मात्र मोरङ्गको सुन्दरहरैँचास्थित बलियामा रहेको गोकर्ण फन पार्क एण्ड रिसोर्टका साथै निर्माणाधीन त्रिवेणी रिभरसाइड रिसोर्टको समेत व्यवस्थापन हेर्नेगरी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
त्रिवेणी रिभरसाइड रिसोर्टको सफ्ट ओपनिङ्ग आउँदै गरेको अङ्ग्रेजी नयाँ वर्षबाट गर्नेगरी तयारी भइरहेको प्राइडको भनाइ छ । दसैँ र तिहारअघि गरेर गोकर्णमा २ वटा कन्सर्टसमेत गरिसकेको प्राइड हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत नितेश पोख्रेल १६ वर्षभन्दा लामो समय आतिथ्य सत्कारका क्षेत्रमा काम गरेका व्यक्तित्व हुन् । प्राइडकै क्लष्टर ह्युमन रिसोर्स म्यानेजर जमुना ढुङ्गाना र सीईओ पोख्रेललाई भेटेपछि हामीले अन्तवार्ताको प्रस्ताव राख्यौँ । प्रस्तुत छ उनै हस्पिटालिटी क्षेत्रका हस्ति नितेश पोख्रेलसँग प्रदेश पोर्टलका लागि सम्पादकद्वय प्रेम बास्तोला र प्रकाश बन्जाराले गरेको कुराकानीः
प्राइड हस्पिटालिटी के हो ?
प्राइड एउटा होटल म्यानेजमेन्ट कम्पनी हो । मारिवट, हायात, सोफिटल भनेजस्तै नेपालकै व्यवस्थापनमा खुलेको नेपाली होटल म्यानेजमेन्ट कम्पनी हो प्राइड । आफ्नै देशमा उत्पादन हुने जनशक्तिबाट आफ्नै देशको व्यावसायिक व्यवस्थापन गर्ने कम्पनी निकै कम छन् नेपालमा हामीले त्यसको पूर्ति गर्न र देशको पैसा विदेश जान नदिनेगरी देशमा रोक्न प्राइडको स्थापना गरेका हौँ । होटलको डिजाइनदेखि लिएर ओपनिङ्ग र म्यानेजमेन्टसमेत हेर्नेगरी हामीसँग जनशक्ति छ र त्यही अनुरुप काम गरिरहेका छौँ । होटल निमार्ण, होटल बंैकिङ्ग, ब्राण्डिङ्ग इन्टेरियर र सेटअप पनि हामी आफँै गरिरहेका छौँ ।
अहिले प्राइडका के के प्रोडक्टहरु सार्वजनिक भएका छन् ?
प्राइड होटल म्यानेजमेन्ट कम्पनी भएकाले हामी होटल सेक्टरका सम्पूर्ण कामहरु गर्छौँ । होटल बुकिङ्गको लागि हाम्रै कुनाकन्दराबाट होटल बुक गर्न सजिलो होस् भनेर हामीले प्राइड क्लिक नामको होटल बुकिङ्ग पोर्टल सार्वजनिक गरिसकेका छौँ । अब चाँडै त्यसलाई एन्ड्रोइड र आईओएस दुवै एप्लिकेसनमा लाँदै छौँ । प्राइडसँग अहिले ८ वटा होटल छन् जसमध्ये ३ वटा होटल चालु अवस्थामा छन् भने बाँकी ५ वटा होटलहरु निमार्णकै क्रममा छन् । जसको प्रोजेक्ट हामीले नै हेरिरहेका छौँ । होटलहरु आउने क्रम जारी छ । चाँडै चितवन, काठमाडौँ र पोखराका होटलहरुमा प्राइडले आफ्नो ब्राण्डिङ्ग गर्नेछ ।
प्राइड क्लिकमा कत्तिको आकर्षण भएको पाउनुभएको छ ?
धेरै होटल बुकिङ्ग एपहरु विदेशी लगानीमा छन् । विदेशी लगानीमा भएका होटल बुकिङ्ग एपमा इन्रोल हुन पनि पैसा तिर्नुपर्ने र कमिसन पनि बढी तिर्नुपर्ने हुन्छ । हाम्रै नेपाली व्यवस्थापनबाट स्थापना भएको पोर्टल प्राइड क्लिक हो । जसमा अहिले हामीले होटलहरुलाई इन्रोल भएबापत कुनै शुल्क नलिने बताएका छौँ भने कमिसन पनि एकदमै थोरै मात्र लिन्छौँ । हामीसँग अहिले १ सय २० वटा होटलहरु इन्रोल भइसकेका छन् भने बाँकी इन्रोलको क्रममै रहेका छन् । ग्राहकलाई पनि प्राइड क्लिकमार्फत् होटल बुक गरेमा हामीले विभिन्न सुविधाहरु दिने भनेका छौँ । एप विस्तार भएपछि हामीलाई ग्राहकले विश्वास गर्नुहुनेछ । त्यो उहाँहरुको लागि पनि राम्रो हो ।
प्रदेश १ को पर्यटनलाई हेर्ने हो भने इटहरीलाई टुरिजम हब बनाउने कुरा हुन्छन् । तपाईहरुले चाँहि इटहरीलक्षित पर्यटकको लागि के गर्दै हुनुहुन्छ ?
पूर्वमा प्रदेश १ को लागि इटहरी पर्यटकीय हब हो । यसै पनि इटहरीले पर्यटनको राम्रो सम्भावना बोकेको छ । हामीले इटहरीको लक्जरीकै रुपमा गोरखा होटललाई ल्याएका छौँ । गोरखा होटल सबै प्रकारका पर्यटकको लागि राम्रो गन्तव्य हो । हामीसँग २ हजारदेखि माथिको भाउका कोठाहरु गोरखामा छन् । त्यत्ति मात्र नभएर गोकर्ण रिसार्ट एण्ड फन पार्क छ जो इटहरीको नजिकै भएको पर्यटकीय गन्तव्य हो । साथमा हामीले त्रिवेणी रिभरसाइड रिसोर्टको पनि व्यवस्थापन हेर्ने जिम्मा लिएका छौँ । त्रिवेणीले धेरै पर्यटकको मन जित्ने विश्वास हामीले लिएका छाँै । जसले इटहरीका पर्यटकलाई पनि समेट्ने हाम्रो आशा छ । हामी चाँडै इटहरीलक्षित प्याकेजहरु ल्याउने तयारीमा छौँ जसमा काठमाडौँ इटहरी इलाम, काठमाडाँै इटहरी भेडेटार, इलाम इटहरी काठमाडौँजस्ता प्याकेजहरु ल्याएर धेरैभन्दा धेरै पर्यटकलाई इटहरीमै रात बसेर पूर्वको सुन्दरतालाई अवलोकन गर्न मिल्नेगरी हामी काम गर्ने तयारीमा छौँ ।
नेपालमा आउने पर्यटकलाई टार्गेट गर्दा नेपालका होटलहरुको अवस्था कस्तो पाउनुभएको छ ?
टुरिजम क्षेत्रबाहेक सिटी होटलहरुको अवस्था राम्रो छ । पर्यटकहरु हामीकहाँ यहाँको प्राकृतिक सुन्दरता हेर्न आउने हो । तथापि बस्ने भनेको होटलमै भएकाले होटलहरुलाई स्तरीय बनाउनुपर्छ । त्यसका लागि सरकारको मातहतमा रहेको पर्यटन बोर्डले पहल गर्नु आवश्यक छ । होटलहरु सबै ग्राहकलाई समेट्ने प्रकारको हुनुपर्यो । हामी होटलको राम्रो व्यवस्थापन गर्दै आइरहेका छौँ । तपाईँको होटललाई राम्रो व्यवस्थापन दिनुपर्यो भने हामीलाई सम्झिनुहोस हामी राम्रो बनाउन सक्छौँ ।
भनेपछि हामीसँग प्रशस्त होटलहरु छन् कि अरु खुल्नुपर्छ ?
होटलहरु चाहिन्छ तर भइरहेका होटलहरुको सुधार पनि उत्तिकै आवश्यक छ । भोलि ३ लाख चाइनिज तथा भारतीय पर्यटक आए भने कहाँ बस्ने भन्ने चुनौति नहोस् भन्नको लागि पनि होटल आवश्यक छ । तर सेवा र सुविधा पनि समय अनुसार अपग्रेड गर्दै लानुपर्छ ।
पर्यटन र होटल दुवैलाई सँगै लानको लागि के गर्नुपर्ला ?
पर्यटन र होटल एक अर्काको पर्याय हो । पर्यटकहरु होटलमा बस्नको लागि मात्र आउने होइनन् । उनीहरु नेपालको प्राकृतिक तथा धार्मिक अवलोकनका लागि आउँछन् र आराम गर्न होटलमा जान्छन् । पर्यटकीय गन्तव्यको विस्तारका लागि रुटहरुको विस्तार, वाइफाइ, पानी, बत्तिदेखि लिएर खानाको लागि पनि उत्तिकै ध्यान दिनु जरुरी हुन्छ । खानामा मौलिकता र शुद्धता हुन पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
प्राइडको टार्गेट कतिवटा होटल व्यवस्थापन गर्ने हो त ?
प्राइड भर्खरै जन्मेको भएपनि राम्रो स्थानमा छ । हामी चाँडै चितवन काठमाडाँै र पोखराका होटलको व्यवस्थापन हेर्ने गरी अगाडि बढ्दैछौँ । होटलहरु आउने क्रम जारी छ र अहिले कोरोनाको कहर सकिहालेको पनि छैन । अझै तेस्रो लहर आउने आँकलनहरु छन् । त्यसो हुनाले अहिले नै धेरै होटलहरु जिम्मा लिएर पछि गाह्रो हुने अवस्था पनि आउन सक्छ । हामी यो वर्ष कम्तिमा १० वटा होटल जिम्मा लिदैछौँ । आगामी वर्ष ब्राण्ड विस्तारको तयारी छ । अबको दुई तीन वर्षमा कम्तिमा ५० होटलहरु प्राइडले हेर्नेछ ।
प्राइडको प्रतिस्पर्धी को हो ?
अहिले मेरो प्रतिस्पर्धी मै हो भन्ने अवस्था छ । समयसँगै आफूलाई पनि प्रविधिमैत्री बनाउनुपर्ने अवस्था छ । समय र सिजन अनुसार विभिन्न प्रोडक्ट ल्याउन सकिएन भने भोलि आफैँ पछुताउनुपर्ने अवस्था आउन सक्छ । समयसँगै आफैँलाई परिष्कृत गर्दै लानुपर्ने आजको आवश्यकता हो । हामी त्यही दिशामा छौँ ।
हाम्रा होटललाई पुग्ने जनशत्ति हामीसँग छ ?
प्रदेश १ का लागि हाम्रो होटललाई चाहिने जनशक्तिको कमी देखिँदैन । हामी देशमै रोजगार स्थापना गरेर विदेश पलायन हुने जनशक्तिलाई देशमै रोक्ने प्रयत्नमा छौँ । पश्चिमका होटलहरुमा केही होटलियरहरुको कमी हो कि जस्तो अनुभव हुन्छ । विस्तारै हामी पनि जनशक्ति उत्पादनमा होमिने उद्देश्य लिएर अगाडि बढ्दै छौँ ।
पर्यटन क्षेत्रको विकासका लागि सरकारले के गर्नुपर्ला ?
होटल पर्यटनसँग प्रत्यक्ष जोडिएको हुनाले अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालप्रति सकारात्मक छाप पर्नेगरी एयरपोर्टको व्यवस्थापन हुनुपर्छ । त्यसपछि इमिग्रेसनलाई डिजिटलाइजेसनमा लानुपर्छ । साथसाथै हाम्रो ट्रान्सपोर्टेसन सिस्टम पनि अपग्रेड हुनुपर्यो । त्यो पनि एक प्रकारको चुनौति नै हो । त्यति मात्र नभएर कोरोनाले पर्यटन व्यवसायीको छाति टेकेको छ । त्यसबाट राहत दिनको लागि कर छुट तथा राहतको प्याकेजहरु ल्याउनुपर्यो । त्यति मात्र नभएर पर्यटनलाई विस्तार गर्ने भनेको नेपालबाट विभिन्न नियोगमा नियोग प्रमुख भएर जाने राजदूतहरु प्नि हुन् । सकेसम्म सरकारले राजदूत नियुक्त गर्दा पर्यटन व्यवसायीलाई राजदूतको रुपमा नियुक्त गर्नुपर्यो ।
नेपालमा आन्तरिक पर्यटनको सम्भावना कत्तिको देख्नुहुन्छ ?
नेपाल नै नघुमेका नेपालीहरु धेरै छन् हामीसँग । ३ करोड जनसंख्या भएको देशमा आन्तरिक पर्यटनबाट मात्र पनि हाम्रो पर्यटन क्षेत्र निकै माथि जान सक्छ । देशकै धार्मिक साँस्कृतिक क्षेत्रको भ्रमणमा सबै जुट्ने हो भने नेपालको पर्यटन नेपालीबाटै पनि चलायमान हुन सक्छ । त्यसका लागि सरकारले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ ।