इटहरीः प्रदेश १ मा भएका पर्यटकीय गन्तव्यको प्रचारका साथै आन्तरिक पर्यटनमा साझेदारी गर्न एक नम्बर प्रदेशका होटल व्यावसायी तथा पर्यटनकर्मीहरु प्रदेश २ का विभिन्न क्षेत्रको भ्रमण गरेर फर्किएका छन् ।
एक नम्बर प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको को प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले प्रदेश १ का पर्यटन व्यवसायीहरूले प्रदेश २ को भ्रमण गरेको र प्रदेश २ पनि पर्यटनको राम्रो सम्भावनाको क्षेत्र रहेको भ्रमणमा संलग्न होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए । प्रदेश १ मा अभाव रहेको निकुञ्जका लागि प्रदेश २ को पर्सा राष्ट्रिय निकुञ्ज, मानव निर्मित तराईको सबैभन्दा ठूलो भरत ताल, धार्मिक क्षेत्र जनकपुर, गढीमाईलगायत प्रदेश १ का पर्यटकका लागि गन्तव्य बन्न सक्ने र प्रदेश २ का लागि पूर्वको पहाड, साहसिक गतिविधि, हिमाली क्षेत्रलगायत धार्मिक पर्यटनका लागि ताप्लेजुङको पाथीभरा मन्दिर लगायतका क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने पर्यटनकर्मीको बुझाइ छ । प्रदेश नम्बर २ मा रहेको जनकपुरधाम धार्मिक पर्यटनका लागि राम्रो सँस्कृति र ऐतिहास बोेकेको क्षेत्र रहेको साथै त्यहाँ दैनिक गरिने आरति एकदमै राम्रो र पर्यटकको मन जित्ने किसिमको रहेको होटल व्यवसायी तथा पर्यटनकर्मी पराजुली बताउँछन् । दैनिक साँँझ ७ बजे गरिने आरतिमा ३ जना पण्डितले आधा घण्टासम्म गाउने आरति भजन पर्यटकले रुचाउने खालको पाएको पराजुलीले बताए ।
जनकपुरबाहेक वीरगन्जको गढिमाईको मन्दिर परम्परागत धार्मिक पर्यटनका लागि चिनिएको ठाउँ रहेको पनि उनी बताउँछन् । वार्षिक रुपमा पूजापाठ गर्न आउने भक्तजनले १० हजारभन्दा बढी राँगाको बलि एकै ठाउँमा दिने गरेको स्थल तथा रामसीता विवाह भएको मण्डप बन्दै गरेका स्थलसमेत धार्मिक पर्यटनको लागि महत्वपूर्ण मानिन्छ । जनकपुर र वीरगञ्जपछि पर्साको राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य दुवै पर्यटकको लागि एकदमै महत्वपूर्ण र पुग्नैपर्ने ठाउँ भएको पर्यटनकर्मीहरु सुनाउँछन् । जङ्गल सफारीमा रमाएका पर्यटनकर्मीले पर्सा राष्ट्रिय निकुञ्जलाई भर्जिन ल्याण्डको संज्ञा दिएका छन् । जङ्गल सफारी राम्रो र एकदमै मनमोहक रहेको उनीहरुको बुझाइ छ । यसैगरी सर्लाहीको बागमती नगरपालिकाका मेयरकुमार भरत थापाले पर्यटनको लागि बागमतीको पानीलाई डाइभर्ट गरेर ३०० बिघाको जग्गामा बनाएको मानवनिर्मित ताल उदाहरणीय भएको भ्रमण दलका सदस्य पराजुली सुनाउँछन् । पार्टी र दलगत स्वार्थभन्दा माथि रहेर निर्माण गरिएको उक्त तालको वरिपरि होटलहरु खोलेर ३ सयभन्दा बढी जनशक्तिलाई रोजगारसमेत दिलाएको पराजुलीले हामीलाई सुनाए । अहिले ताल निर्माणकै क्रममा रहेको र निर्माण भएपश्चात् दैनिक पाँच हजार पर्यटकलाई लक्षित गर्ने गरी बोटिङ्ग, फिसिङ्ग लगायतका सुविधाहरु निर्माण गरिएको बताइएको छ ।
खोलाले बगाएर लगिसकेको जग्गालाई सदुपयोग गरेर बनाइएको तालमा १२५ बिघाको क्षेत्रफलमा ताल तयार भइसकेका र डुङ्गामा बसेर पर्यटकहरुले मज्जा लिइरहेको पर्यटनकर्मी सुनाउँछन् । प्रदेश २ का सम्भावनाका क्षेत्रहरु घुमिसकेपछि प्रदेश १ का पर्यटनका लागि पनि स्थानीय सरकार र प्रदेश सरकारले थुप्रै काम गर्नपर्ने पर्यटनकर्मीहरुको भनाइ छ । “हामीसँग एक नम्बरमा पनि सम्भावना भएको ठाउँहरु छन् । त्यसलाई पनि हामी धेरै गर्न सक्छौँ । धार्मिक, ट्रेकिङ्ग, र घुम्नलायक ठाउँहरु छन् तर सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्छ र लगानी पनि उत्तिकै मात्रमा गर्नुपर्छ”, होटल व्यावसायी संघ इटहरीका अध्यक्षसमेत रहेका पराजुली भन्छन् । यलपालिको दसैँमा पूर्वमा प्रशस्त पर्यटकहरु आएको बताउँदै पराजुलीले प्रदेश १ मा धेरै पर्यटक आएको यो पहिलो दसैँ भएको बताए । आन्तरिक पर्यटक पनि धेरै आकर्षित गर्न सकिन्छ भन्ने भनाइ राख्ने पर्यटनकर्मीहरु प्रदेश १ बाट हिमालहरुसँग जोडिने गरी पाराग्लाइडिङ्ग, मान्टेन फ्लाइट, पदयात्राजस्ता कार्यक्रम ल्याउन सकिने बताइरहेका छन् ।
काठमाडौँदेखि मान्छेहरु आएर हेलिकप्टरमा ताप्लेजुङ्गको पाथीभराको दर्शन गर्न गएको उदाहरण दिँदै पर्यटनकर्मीहरुले स्थानीय सरकारले पर्यटनको प्रवद्र्धन गर्न बजेट छुट्याउनुपर्ने र पर्यटनबाट जीवनस्तर उठाउन सकिने भनाइ राख्छन् । यसैगरी पर्यटन प्रवद्र्धनको लागि प्रदेश न १ र प्रदेश न २ का पर्यटन व्यवसायीहरु संयुक्त प्याकेज बनाउन सहमत भएका छन् । प्रदेश नं १ बाट दुई नम्बर प्रदेश पुगेका होटल तथा पर्यटन व्यवसायीहरु र प्रदेश न २ का होटल तथा पर्यटन व्यवसायीहरुबीच वीरगञ्जमा भएको छलफलमा संयुक्त रुपमा पर्यटन प्रवद्र्धन गर्न सहमत भएका हुन् । प्रदेश न १ र २ मा धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले प्रचुर सम्भावना भएपनि पर्यटन क्षेत्रमा राज्यको उपेक्षाका कारण पूर्वाधार विकास हुन नसक्दा ओझेलमा परेको औँल्याउँदै पर्यटन व्यवसायीले अब आफूहरु मिलेर संयुक्त अभियान सञ्चालन गर्ने र आफ्नो क्षेत्रको पर्यटनलाई गति दिने उद्घोष गरेका छन् । प्रदेश नं १ बाट पुगेका आन्तरिक पर्यटन पुनरत्थान समिति संयोजक भविसकुमार श्रेष्ठ, नाट्टा प्रदेश नं १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, नाट्टा प्रदेश नं १ का महासचिव नवीन खरेल, होटल व्यवसायी महासंघ प्रदेश नं १ का अध्यक्ष राजन दंगाल, होटल व्यवसायी महासंघका महासचिव बासुदेव बराल, होटल व्यवसायी संघ इटहरीका अध्यक्ष पराजुली, सुनसरी उद्योग वाणिज्य संघकी एलिना मगर लगायतको टोली भ्रमणमा सामेल थियो ।