इटहरीः धनकुटामा रहेको गुराँस लघुवित्त वित्तीय सँस्थाको वार्षिक साधारणसभा यही कार्तिक २२ गते हुने भएको छ ।

भर्खरै मात्र सञ्चालक समितिको बैठकबाट आफ्ना लगानीकर्ता शेयरधनीलाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको लघुवित्तले साधारणसभाबाट उक्त प्रस्तावलाई पारित गर्ने बताएको छ । साधारणसभा न्यू अञ्जुली होटल धनकुटामा बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १६.९०% बोनस शेयर र कर प्रयोजनका लागि ०.८८% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस गर्दैछ ।

बोनस वितरणपछि चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । यसैगरी, अन्य बैंक तथा वित्तीय सँस्थाहरुसँग गाभ्ने–गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ८ गतेबाट २२ गतेसम्म बुक क्लोज गरेको छ । कात्तिक ७ गतेसम्म कायम शेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।