इटहरीः थप दुई जलविद्युत कम्पनीले साधारण शेयर आईपीओ निष्कासनका लागि स्वीकृति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । 

स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन कम्पनी र मन्दाकिनी हाइड्रोपावर कम्पनीले साधारण शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डसमक्ष अनुमति माग गरेका छन् । दुईमध्ये स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन कम्पनी लिमिटेडले पौने ४८ करोड रुपैयाँभन्दा बढीको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । स्वेतगंगाले आईपीओ निष्कासनको अनुमति माग्दै गत कात्तिक १० गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो । कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ । सेबोनबाट अनुमति पाएमा स्वेतगंगाले १०० रुपैयाँ अङ्कित दरका कुल ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ । स्वेतगंगाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यसैगरी मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँभन्दा बढीको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत कात्तिक १४ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष आवेदन दिएको हो । कम्पनीले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ । सेबोनबाट अनुमति पाएमा कम्पनीले १०० रुपैयाँ अङ्ति दरका कुल १७ लाख ६४ हजार ११० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

यो आईपीओ पनि कम्पनीले स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ । मन्दाकिनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । दुवै कम्पनीको आईपीओ धितोपत्र बोर्डले अध्ययन र स्वीकृत गरेपश्चात् निष्कासनको मिति तय हुनेछ ।