इटहरीः मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर तीनमा अवस्थित मङ्गलहाट बिस्तारै विकासको बाटोमा अघि बढिरहेको छ ।
एक वर्ष अघिसम्म विकासका नाममा त्यहाँ खासै केही थिएन । अहिले भने पिच सडक, बिजुली, इन्टरनेट, मेडिकल पसल, किराना पसल, शैक्षिक सँस्था, कृषि फर्म, केबल, खानेपानी, होटल, ग्यास डिलर, मिल, मासु पसल आदि रहेका छन् । जनतालाई अत्यावश्यक पर्ने सुविधा यहीँ पाउन थालेपछि २ किलोमिटर पश्चिममा रहेको झोराहाट बजार आउने जाने समयको बचत भएको छ । सदरमुकाम विराटनगरबाट ७ किलोमिटर पूर्वमा रहेको यो मङ्गलहाटमा सातामा ३ दिन मङ्गलबार, शनिबार र बिहीबार हाट बजार लाग्ने गर्दछ ।
हाटमा स्थानीय जनताले उत्पादन गरेका वस्तुको किनबेच हुने गर्दछ । मंगलहाट सीतापुर, झङडाई, डङटोली, थलाहा, सिद्रहा, झसटोली, भौडाहा आदि स्थानको व्यापारिक केन्द्रका रूपमा पछिल्लो समय विकास हुँदैछ । सरकारको नीति अनुसार फुसको घर हटाउने अभ्यानसँगै यहाँ गरीब किसानका घरका छाना जस्तापाताले छाउने काम भएको छ भने धनीहरूले पक्का घर बनाउने प्रतिस्पर्धा नै गरिरहेका छन् । यस क्षेत्रमा चौधरी, राजवंशी, माझी, उराव, मुडियारी आदि जातिको बाहुल्य रहेको छ ।