काठमाडौँः प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन् ।
पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयसँगको अन्तर्क्रिरयामा मंगलबार उनले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिए । विपक्षी दलका नेताहरुले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने दाबी गरेका थिए । ‘हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ, अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ’, उनले भने ।
वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तर्क्रिरया गर्न गाउँ गाउँ जाने गरेको उनले बताए । जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उनले बताए । केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे सात दिनमा अहिलेको सरकार ढल्ने बताएका थिए । -रासस