झापाः खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँबासीलाई मेलम्चीको पानी अस्थायी रुपमा भए पनि तत्कालै उपलब्ध गराउने बताएका छन् ।
खानेपानी आयोजनाका अधुरा कामको निरीक्षणका लागि झापा आएका मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौँ ल्याउने विषयमा विज्ञको टोलीले निरीक्षण गरेको र आफूले स्थलगत निरीक्षणपछि तत्कालै काठमाडौँवासीलाई अस्थायी रुपमा भए पनि खानेपानी उपलब्ध गराउने बताए । आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने प्रतिबद्धता जनाउँदै मन्त्री चौधरीले यसअघिको सरकारले लोकप्रियताका लागि हतारमा मेलम्चीको पानी वितरण गरेको आरोप लगाए ।
गत असार १ मा मेलम्चीमा आएको बाढीले खानेपानी आयोजनाको मुहान क्षेत्रमा क्षति पुगेको थियो । मन्त्री चौधरीले झापामा सञ्चालित खानेपानीका अधुरा योजनालाई पूर्णता दिन लागि पर्ने उल्लेख गरेका थिए । उनले बिर्तामोड साना सहरी खानेपानी आयोजनाका लागि यसै वर्ष थप उपकरण प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । -रासस