इटहरीः पूर्वको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा परिचित धनकुटाको भेडेटार क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ ।

कोरोना महामारीका कारण लामो समयसम्म घुमफिर गर्न नपाएका आन्तरिक पर्यटकहरु यहाँको चिसो मौसम र पहाडी भूगोलको रोमाञ्चक अनुभव बटुल्न झुम्मिन थालेका छन् । पर्यटकको आगमनसँगै यस क्षेत्रको होटल व्यवसाय पनि फस्टाउने क्रममा रहेको छ । होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई कोरोना महामारीले चौपट बनाएको व्यवसायलाई अहिले सुरु भएको पर्यटकको आगमनले राहत दिएको बताउँछन् । भेडेटार, नाम्जे, नमस्ते झर्नाजस्ता मनमोहक पर्यटकीय गन्तव्य धेरै पर्यटकको रिफ्रेसमेन्टको माध्यम बनेको उनको भनाइ छ । भेडेटारमा दुई वटा स्टार होटलहरु खुल्ने चरणमा छन् । पर्यटकहरु आसपासका क्षेत्र घुमाएर सुविधासम्पन्न होटलमा राख्न यी होटल सुरु भएपछि सहज हुने साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले बताए ।

namje-lila

गाउँपालिकाले पर्यटनलाई प्राथमिकता दिएर काम गरिरहेको उनको भनाइ थियो । पर्यटकहरुका लागि बुटिक जोन, वाईफाई जोनहरु बनाएको छ । फुलबारी जोन बनाउने तयारी भइरहेको छ । गाउँपापलिकाले साँगुरीगढी क्षेत्रका १७ वटा महत्वपूुर्ण स्थानको पहिचान गरी प्वाइन्ट बनाएको छ । भेडेटार आसपासका क्षेत्र घुम्नका लागि गाउँपालिकाले निकट भविष्यमा यातायातको व्यवस्था गर्ने ६ नं. वडाका वडाध्यक्ष यमप्रकाश मगरले जानकारी दिए । होटल व्यवसायी रुदालीका अनुसार अनुसार कोरोना नहुँदा दैनिक एक हजार पर्यटकहरु पहाडतर्फ उक्लने गर्दथे । तर, लकडाउन भएपछि भने २०७६ चैतदेखि डेढ वर्षसम्म होटल व्यावसाय ठप्प भएको थियो । दसैँ अगाडिदेखि भने चहलपहल बढेको छ ।

कोराना संक्रमण कम भएपछि सुरक्षा सर्तकता अपनाउदै पर्यटकहरु पनि घुमफिर गर्न थालेपछि होटलहरु पनि विस्तारै सञ्चालन हुन थालेका छन् । व्यवसायीहरुले पनि सुरक्षाका मापदण्ड अपनाएर सेवा दिइरहेको व्यवसायी रुम्दालीले बताए । जोगमनी नाका खुल्ला भए पछि भेडेटारमा भारतीय पर्यटकहरु पनि आउन थालेका छन् । प्रदेश १ को पहाडी क्षेत्रको प्राकृतिक सौन्दर्य, जातीय र प्राकृतिक विविधता अनि एडभेन्चर यात्राको अनुभवले भारतीय पर्यटकहरु आकर्षित हुने गरेका छन् ।

भेडेटारको पर्यटनबारे छलफल
झण्डै दुई वर्षदेखि पर्यटनसम्बन्धी औपचारिक कार्यक्रम नभएको भेडेटारमा शनिबार र आइतबार पर्यटनबारे छलफल भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश १ समिति र साँगुरीगढी गाउँपालिकाको सहकार्यमा साँगुरीगढी गाउँपालिकाको पर्यटकी सम्भावना र अवसरबारे छलफल गरिएको हो । प्रदेश १ अध्यक्ष लिलाबल्भव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा साँगुरीगढी गाउँपालिकाले हालसम्म पर्यटन प्रवद्र्धनका लागि गरेको कार्यविवरण प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले प्रस्तुत गरे । उनले भेडेटारमा निकट भविष्यमा स्काई वाक बनाउन लागिएको बताए । प्रदेश सरकारसँगको सहकार्यमा हाल भएको चाल्स भ्युुटावर भएको स्थानमा स्काई वाक बन्न लागेको हो । साँगुरीगढी गाउँपालिकामा अकवरे खोर्सानी उत्पादन हुँदै आएको छ । उक्त खोर्सानी ब्राण्डिङ गरी झोला बनाएर बिक्रीवितरणका तयारी थालिएको उनले बताए ।

251224554-1008639323040104-6604522659797240642-n

कार्यक्रममा नाम्जेको होमस्टेबारे नाम्जेथुम्की सामुदायिक होमस्टेका अध्यक्ष अनिल रानाले जानकारी गराए । स्वास्थ्य मापदण्ड अपनाएर होमस्टेहरुले सुविधा दिइरहेकाले नाम्जे बास बस्दै आउन उनले आग्रहसमेत गरे । ९७ प्रतिशत मगर जातिको बसोबास रहेको नाम्जेमा मगर जातिको मौलिक संस्कृति, भाषा तथा परम्परा बुझ्न पनि सकिने रानाले बताए । यहाँ करिब ४० जनासम्मको क्षमताको होमस्टे सञ्चालनमा छ । कार्यक्रममा होटल एसोशिएसनका अध्यक्ष रुम्दालीले भेडेटारको होटल व्यवसाय र पर्यटकहरुको चहलपहलबारे जानकारी गराए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इक्वाल अहमद, प्रदेश सल्लाहकार विक्रम लुइँटेल, महासंघ धनकुटा अध्यक्ष नगेन्द्र राईलगायतले भेडेटारको पर्यटनबारे बोलेका थिए । पत्रकार महसंघ प्रदेश उपाध्यक्ष हिमा चेम्जोङको संयोजनमा भएको कार्यक्रममा १४ वटै जिल्लाका विभिन्न सञ्चार संस्थामा काम गर्ने पत्रकारहरुको उपस्थिति रहेको थियो ।

249457479-603767250764981-7580490125435841296-n