इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १७ अर्थात् पूर्व पश्चिम राजमार्ग इटहरी चौकबाट पश्चिम जाने लाइनमा एउटा अजिवको डुङ्गा छ । प्राय डुङ्गाहरु नदीमा हुन्छन् र पानीमा तैरिरहन्छन् । तर यो अजिवको डुङ्गा जमिनमाथि छ अनि त्यही डुङ्गाको वरिपरि छन् ४ जना माझीहरु । जीन्दगी संयोग हो । संयोगले भेटिएका यी ४ जना स्वाद बोकेर यही डुङ्गामा सवार छन् र डुङ्गाको सवारी गर्ने चाहना भएकाहरुलाई वारपार गराइरहन्छन् ।
हुन पनि एउटा शहरलाई चाहिएको छुट्टै स्वाद बोकेको डुङ्गा बोकेर नदीमा होमिनु चानचुने कुरा होइन । तर युवा जोसका साथ ४ जना ४ वटै क्षेत्रमा विज्ञ भएकाले उनीहरुलाई यो डुङ्गाको यात्रा त्यत्ति असहज छैन । डुङ्गा इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा हालै खुलेको भाटभटेनी सुपरस्टोरको ठ्याक्कै अगाडि खोलिएको नयाँ रेस्टुरेन्टको नाम हो । नदीमा यात्रुहरुलाई तार्दै गन्तव्यसम्म पुर्याउँदै लामो यात्रा पूरा गरेको डुङ्गा किनारा लगाएजस्तै यो रेस्टुरेन्ट पनि लामो थकान मेटाउने र खाजा नास्तासँगै आराम गर्ने यो शहरकै उत्कृष्ट गन्तव्य हो भन्दा फरक पर्दैन । एक हिसाबले अहिले भाटभटेनी सुपरमार्केटलाई टार्गेट गरेर होटल रेस्टुरेन्ट खोल्ने लहरनै पनि चलेको छ । तर डुङ्गाको कथा भने अलिक फरक रहेछ । डुङ्गाको सन्चालकका रुपमा रहेका रूपक घिमिरे, दीपेश कट्वाल, सीमा पराजुली र सृजना पराजुलीलाई माथि माझी भनेर सम्बोधन गरिएको हो । यी ४ जना सबै छुट्टाछुट्टै क्षेत्रमा विज्ञता हासिल गरेका युवा जोसहरु हुन् । साइनोको हिसाबले हेर्ने हो भने यी दुई दिदीबहिनीका परिवार रहेछन् । भाटभटेनीको निर्माण सुरु हुनुभन्दा पहिलेदेखि नै आफूहरुले निर्माणको काम थालिसकेको र कोरोना महामारी अनि लकडाउनले गर्दा तयार हुन समय लागेको सञ्चालक मध्येका दीपेशले हामीलाई सुनाए ।
शहरभन्दा टाढाको ठाउँ किन रोज्नुभयो त भन्ने प्रश्नमा दीपेश भन्छन् “इटहरीबाट पश्चिम लाग्नासाथ झुम्का पुगुञ्जेलसम्म पश्चिम लाइनमा फेमिली रेस्टुरेन्ट थिएनन् । त्यही भएर यो क्षेत्रमा पनि एउटा फेमिली टाइपको रेस्टुरेन्ट आवश्यक छ भनेर यो ठाउँ रोजेका हौँ ।” भारतको बैंगलुरु शहरमा होटेल म्यानेजमेन्ट पढ्न गएका रूपक घिमिरे र त्यही शहरमा बिजनेश एडमिनिष्ट्रेसनमा स्नातकोत्तर गर्न पुगेकी सीमा पराजुली श्रीमान श्रीमति हुन् । यता इन्जिनियरिङ्गको पढाइ गरेर फेरि सुचना प्रविधि अर्थात् आईटीमा दक्षता हासिल गरेका दीपेश कटुवाल र सृजना पराजुली पनि जीवनसाथी हुन् । सृजनाले भने नर्सिङ्गको पढाइ गरेकी रहिछन् । पढाइ सकेपछि तथा केही पढेपछि जागिरको लागि विदेश नै हानिने प्रवृत्तिलाई पन्छाउँदै देशमै केही गर्ने सोच राखेका यी ४ जनाले लामो कसरतपछि आफ्नै देशमा त्यो पनि आफ्नै शहरमा छुट्टै पहिचानको व्यवसाय खोलेका छन्, त्यसको नाम हो डुङ्गा । पढाइ सकेपछि देशमै रेस्टुरेन्ट खोल्ने पुरानै योजना भएता पनि नाम जुराउनमा ज्योतिषीको समेत हात रहेछ । ज्योतिषीले पानीसम्बन्धी नाम राख्दा उपयुक्त हुने बताएपछि डुङ्गाको नाम आएको दीपेशले सुनाए । व्यवसायी भएता पनि रुपक हरेक बिहान आफ्नो होटल म्यानेजमेन्टकै कक्षा दिन कलेज धाउँछन् । उता दीपेशको पनि कलेजमै क्लास दिनुपर्छ । विजेनेशको विद्यार्थी भएको हुनाले सीमाले विजनेश पूरै हेर्छिन् अनि नर्सिङ्गको विद्यार्थी भएकाले सृजनाको क्षेत्र भनेको स्टाफिङ र हाइजिन म्याजमेन्ट पर्ने रहेछ ।
गत श्रावण २२ गतेबाट औपचारिक रूपमा उद्घाटन भएको रेस्टुरेन्ट सबै प्रकारका ग्राहकका लागि उपयुक्त रहेको सञ्चालक मध्येका दीपेशले हामीलाई बताए । बजारीकरणको लागि आफ्नो वेबसाइट, फेसबुक पेज, गुगल म्याप पनि रहेकाले राजमार्गका धेरै ग्राहकहरु खाना तथा खाजाको लागि बुकिङ्ग गरेरै आफूहरुकहाँ आउने गरेको दीपेश बताउँछन् । डुङ्गाका विभिन्न आकृतिसहित रिसेप्सन टेबल, बार र रेस्टुरेन्टको सम्पूर्ण डिजाइन डुङ्गाकै वरिपरि घुमेको छ । “यो पूरै इन्टेरियर डिजाइन ४ जना सञ्चालक मिलेर हामी आफँैले गरेका हौँ । हाम्रो सल्लाह अनुसार कालिगढ बोलायौँ र बनाउने जिम्मा दियौँ ।” दीपेशले सुनाए । ‘बैंगलुरु अर्थात् बैंगलोरका रेस्टुरेन्टहरुबाट पनि निकै कुरा सिकेको र नेपालमै केही गर्नुपर्छ भन्ने योजना अनुरुप डुङ्गा तयार भएको सीमा बताउँछिन । मौलिक पहिचान सहितको डुङ्गामा अन्यमा भन्दा नयाँपनको झल्को आउँछ । समुन्द्रमा डुङ्गामा बसेजसरी बसेको ठूलो डुङ्गामा पार्टेसन गरेर टेबलहरु बनाइएको छ । आफु आईटी क्षेत्रको विज्ञ भएको हुनाले नाम जुरेसँगै आफू नै डिजाइनमा जुटेको दीपेश बताउँछन् । आ–आफ्नो क्षेत्रका भएकाले रेस्टुरेन्ट चलाउन सहज भएको सीमाको अनुभव छ । त्यसो त किचनको हेरचाह र व्यवस्थापन रुपकले गर्ने गरेको, बिजनेश आफूले हेर्ने र फाइनान्स काउण्टर तर्फको जिम्मा सृजनाले हेर्ने गरेको उनीहरु सुनाउँछन् । डुङ्गा रेस्टुरेन्टमा नेपाली, इन्डियनका साथमा चाइनिज कुजिनका परिकारहरु पाइने गरेको सीमा र दीपेशले हामीलाई सुनाए । डुङ्गाले आफ्नो स्पेशल डुङ्गा प्राइड चिकन नामको फ्राइड चिकन आफ्नो मेनुमा राखेको रहेछ । साथै डुङ्गाको डेजर्टको रुपमा हनी नुडल्स विथ आइसक्रिम रहेछ । डुङ्मा छिर्दा अन्य रेस्टुरेन्टमा भन्दा छुट्टै आनन्द आउने रहेछ ।
ब्राण्डलाई स्पेसल बनाउन सबै स्टाफ एउटै युनिफर्ममा सजिएका छन् । त्यति मात्र नभएर सबैको गलामा परिचयपत्र झुण्डिएको छ । हललाई ननस्मोकिङ्ग भनेर डिजाइन गरिएको छ भने परिवार र स्पेशल इभेन्ट सेलिब्रेन गर्नका लागि क्याबिनसमेत राखिएको छ । क्याबिन र आउटडोरमा भने ग्राहकले स्मोकिङसमेत गर्न सक्ने सञ्चालक सीमा बताउँछिन् । झट्ट हेर्दा महङ्गोजस्तो लाग्ने भएपनि सबै परिकारका मूल्यहरु रिजनेवल नै राखिएको र सबै प्रकारका ग्राहकहरु आएर डुङ्गाको स्वाद लिन सक्ने दीपेशले बताए । डुगामा समुन्द्री माछा प्राउनका साथमा बासा नामको माछाको परिकारहरु पनि पाइने रहेछ । त्यसो त लोकल ग्राहकहरुलाई फोकस गरेर त्यहाँको समुदायमै पाइने सागसब्जी र माछा मासुहरु ल्याउने गरेको छ । भारतको बैंलोरमा २२ वर्षको अनुभव सँगालेका सेफलाई डुङ्गाले नियुक्त गरेको रहेछ । बिजनेस एडमिनिष्ट्रेसन गरेर व्यापारमा होमिएकी सीमा व्यस्त हुनुका साथै लगानी र नाफा जोडिएको क्षेत्र नै बिजनेस भएको बताउँछिन् । हामीले पढ्ने पढाइ पास गर्नका लागि मात्र हुने गरेको र जे पढेको हो त्यसैलाई व्यवहारमा उतार्दा चुनौति पनि हुने गरेको सीमाको अनुभवले भन्छ । त्यसो त विकसित देशहरुमा कामदारलाई प्राथमिकता दिने गरेकाले र कामदारको फिडब्याकहरु लागु हुने हुँदा व्यापार फस्टाउने गरेको सीमाको बुझाइ छ । आफ्नो पढाइलाई अनुभवमा समेट्ने मौका पाएकी यी व्यापारकी विद्यार्थीले आफ्नो व्यापारलाई कहाँसम्म लाने हुन् त्यो भने हेर्न बाँकी नै छ । तथापि आफुहरुले स्टाफलाई परिवारकै हिस्साको रुपमा लिने गरेको दीपेश र सीमा बताउँछन् । सुन्दर डिजाइनले सजिएको यो रेस्टुरेन्टमा अहिले १० जनाले रोजगारी पाएका छन् । कतै आफू पनि रोजगारी नै गरिराखेको र कतै रोजगारदाता पनि बन्न पाउँदा आफूहरु खुसी भएको सञ्चालकहरुको भनाइ छ ।