इटहरी: नेपालीजनको ....बोलको नरेन्द्र दंगालको देउसी गीत आज इटहरी सुनसरीमा एक औपचारिक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।

वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यमा भएको लोकार्पण कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा नागरिक समाज इटहरीका अध्यक्ष राजु के.सी, सुन्दरहरैँचा वडा नं. ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराई र पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको उपस्थिति रहेको थियो । तिहारको पूर्वसन्ध्यमा लोकार्पण गरिएको उक्त गीतको भिडियो परम्परागत देउसी संस्कृतिको जर्गेना गर्ने हेतुले साथै मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तयार गरिएको गायक, रचनाकार तथा संगीतकार दंगालले बताएका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले देउसी भैलो खेल्ने क्रममा आजभोलि तडक भडक भित्रिरहेको सन्दर्भमा यस्ता मौलिक संस्कृति झल्किने गीतले संस्कृति संरक्षणमा टेवा पुग्ने भन्दै गीत अत्यन्त राम्रो बनेको बताए । त्यसैगरी विशिष्ठ अतिथि राजु केसीले गीत लोकार्पणका अवसरमा शुभकामना दिँंदै यस्ता गीतहरुलाई युवा पुस्ताले संरक्षण गर्ने प्रयास गर्नु अत्यन्त सराहनीय कार्य भएको बताए ।

यस्तै सुन्दरहरैँचा वडा नं. ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले निकै राम्रो देउसी गीत बनेको भन्दै यस्ता लोकसंस्कृति संरक्षणमा आफुले निकै चासो दिने गरेकाले यसतर्फ आफूले वडामा पनि केही नौलो काम गर्ने योजना बनाइरहेको बताए । यस्तै प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष भट्टराईले युवा सञ्चारकर्मीहरुले मौलिक देउसी गीत सार्वजनिक गरेर लोक संस्कृति संरक्षणमा सहयोग पुर्याएकोमा धन्यवाद दिए । यस्तै नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले देउसी गीतमा नेपाली मौलिकता भेटिएको भन्दै सोलुखुम्बु जिल्लामा प्रचलनमा रहेको अर्को देउसी भाका सुनाउँदै त्यसलाई पनि भिडियोमा उतारेर सबैमाझ ल्याउन आग्रह गरे ।

पत्रकार रेवती निरौलाको संयोजनमा सुनसरी र मोरङका सञ्चारकर्मीहरुको संयुक्त प्रयासमा तयार गरिएको उक्त गीतको भिडियोमा सुनसरी र मोरङका पत्रकारहरुको अभिनय रहेको छ भने हास्य अभिनयमार्फत् बालकुमार थेवेले गीतमा सुन्दरता थपेका छन् । आदर्श बाल क्लव सुन्दरहरैँचा मोरङका कलाकारहरुको नृत्य रहेको उक्त गीतमा कोरियोग्राफी रुपक चौधरीले गरेका छन् । यस्तै संगीत संयोजन विवश दंगाल, निर्देशन रोहित खनाल र छायांकन पारस चौधरीले गरेका छन् । हाइलाइटस् नेपाल नामको युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएकोमा सो भिडियोलाई केही घण्टामै १० हजार बढीले हेरेका थिए ।