इटहरीः भर्खरै निष्कासन भएको सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ मङ्गलबार बिहान बाँडफाँट गरिएको छ । 

सामलिङ्गको धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको काठमाडाँै हात्तीसारस्थित कार्यालयमा एक कार्यक्रमबीच आईपीओ बाँडफाँट गरिएको छ । डिम्याट खाता खोलेर शेयर बजारमा आकर्षण भएका लगानीकर्ताको संख्या धेरै भएको र मागभन्दा बढी आवेदन परेका कारण धेरै लगानीकर्ताको हात खाली भएको छ । सामान्यतया लगानीकर्ता बढी हुँदा आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिने चलन छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म १०० अंकित दरका कुल ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

बाँकी ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । यो आईपीओ कुल २१ लाख ९८ हजार ७६४ आवेदकबाट २ करोड ५२ लाख १९ हजार ९०० कित्ता माग भएको थियो । तीमध्ये २१ लाख ८८ हजार ७७८ आवेदकबाट परेको २ करोड ५० लाख ९६ हजार ७० कित्ता शेयर मात्र सदर भएको छ । ९ हजार ९८६ आवेदकबाट परेको १ लाख २३ हजार ८३० कित्ता बदर भएको छ । गोलाप्रथाबाट भाग्यमानी ६७ हजार ८९० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । आईपीओको अन्तिम हेर्न भने केही समय कुर्नुपर्ने बताइएको छ ।

आईपीओको नतिजा सीडीएससीको https//iporesult.cdsc.com.np का साथै धितोपत्र बिक्री प्रबन्धक र निष्कासनकर्ता कम्पनीको वेबसाइटबाट पनि हेर्न सकिनेछ ।