इटहरीः अपहरण मुद्दाका कैदी अभिषेक गिरीलाई कारागार विभागले आज बिहान ५ः३० बजे विराटनगरस्थित मोरङ जिल्ला कारागार ल्याएको छ ।

एक व्यक्तिलाई एउटा कारागारबाट सरुवा गरेपछि सोही कारागारमा नल्याइने परम्पराविपरीत सत्ताधारी दल नेपाली कांग्रेसको दबाबमा गिरीलाई पुनः विराटनगर ल्याइएको स्रोतले बताएको छ । गिरी यसअघि पनि मोरङ कारागारको नाइकेका रुपमा बसिसकेका व्यक्ति हुन् । मोरङ कारागार भित्रबाटै विराटनगरमा गुण्डागर्दी र फिरौति असुली गरेको गुनासो बढेपछि २०७४ साल चैत २३ गते विराटनगरबाट डिल्लीबजार कारागार सरुवा गरिएको थियो ।

तर नेपाली कांग्रेससँग निकट रहेकै आधारमा गिरीलाई पुन विराटनगर सरुवा गर्ने निर्णय भदौ १७ गते भएको हो । गिरीसँगै उनैलाई सहयोग पुग्नेगरी सरकारले अपहरण मुद्दामा कैद भुक्तान गरिरहेका राजु श्रेष्ठ, असित सैंबु र वन मुद्दाका कैदी मनोज काकीलाई पनि विराटनगर सार्ने निर्णय गरिदिएको छ । यद्धपि, गिरीबाहेक अन्य कैदी भने अहिले विराटनगर नआएको मोरङ कारागारका निमित्त प्रमुख रामप्रसाद पोख्रेलले बताए । गिरीको चरम यातनाबाट पहिले नै पीडित बनेका कारागारका कैदीबन्दीहरुले भने उनलाई कारागारमा नल्याउन भनिरहेका छन् । कैदीबन्दीका आफन्तहरुले गिरीको विराटनगर सरुवा रोक्न माग गर्दै आन्दोलनसमेत गरेका थिए ।

यद्यपि, सरकार भने सरुवा स्थगित मात्र गरेर स्थिति साम्य पारी मौका पर्नासाथ गिरीलाई नै नाइके बनाएर पठाउने रणनीति अनुरुप सरकारले गिरीलाई आज विराटनगर ल्याएको हो । गिरीलाई विराटनगर ल्याउनकै लागि सरकारले मोरङ कारागारका तत्कालीन चौकीदार (नाइके) नवीन राईलाई असोज १८ गते क्षेत्रीय कारागार झुम्का सरुवा गरेको थियो । तत्कालका लागि राईको ठाउँमा हत्या मुद्दाका कैदी किरण गुरुङलाई चौकीदार नियुक्त गरिएको थियो । नेपाली कांग्रेसको शेरबहादुर देउवा खेमानिकट मानिने गुन्डानाइके गिरीलाई देउवाले नै अर्थोपार्जनको राम्रो स्रोत रहेको मोरङ कारागारमा सरुवा मिलाइदिएको स्रोतको भनाइ छ । नौ सय कैदीबन्दी रहेको मोरङ कारागारमा नाइकेले व्यापारबाट दैनिक एक लाखभन्दा बढी आम्दानी गर्ने गरेका छन् । कारागारभित्र बाहिरी बजार मूल्यभन्दा बढी मूल्यमा सामान बिक्री गर्ने गरिन्छ ।