सोलुखुम्बुः जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिक अझै बेपत्ता छन् । उनीहरू छ दिनअघि बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली नागरिक थोमस, गाब्रियल र लुइस छन् । उनीहरू आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत् गत असोज १८ खाङतेका हिमाल आरोहणका लागि गएका थिए ।

तीनै जना यही कात्तिक ९ देखि सम्पर्कविहीन बनेपछि खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीका लागि सोमबारदेखि कैलाश एयरको हेलिकोप्टर प्रयोग गरिएको छ । एउटै समूहमा गएकामध्ये अन्य पाँच जना भने सम्पर्कमा आएको कम्पनीले जनाएको छ । -रासस