इटहरीः भोजपुर जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बयाङ बजार एक पर्यटकीय र व्यापारीक केन्द्रको रूपमा चर्चित रहेको छ ।

पहिले देवान्टार वडा नम्बर आठमा रहेको यो बजार हाल आमचोक गाउँपालिका वडा नम्बर ६ मा रहेको छ । बयाङ बजारले लामो समयपछि बिस्तारै बिस्तारै विकासको गति लिँदै छ । उच्च स्थानमा अवस्थित बयाङ बजारबाट हरियाली पहाड, पर्वत, नदीनाला, डाँडाकाँडा, वनजङ्गल आदिको सजिलै अवलोकन गर्न सकिन्छ । यहाँबाट आमचोक गाउँपालिकाको करिब ७० प्रतिशत भूभाग सजिलै अवलोकन गर्न मिल्छ । भोजपुर जिल्लाको सदरमुकाम, सदरमुकामभन्दा बाहिरका स्थान, उदयपुर जिल्लाका धेरै स्थानहरू, धनकुटा जिल्लाका स्थानहरू यहाँबाट सजिलै देख्न सकिन्छ । यहाँ विभिन्न ठाउँका मानिसहरू घुम्न, यो ठाउँको अवलोकन गर्न, मनोरञ्जन गर्न आउने भएकाले यो बजार आन्तरिक पर्यटकीयस्थलसमेत हो । यो बजार पावला, देवान्टार, पान्चा, दिङ्लापुक, दुम्माना, बालंखा, यूँ, थिन्दिङ्खा, वाशिङ्ग, गोगने, पसल भञ्ज्याङ आदि ठाउँको व्यापारिक केन्द्र हो ।

कुनै पनि स्थानीय वस्तुको किनबेच यहींबाट हुन्छ । हरेक हप्ताको बुधबारका दिन यहाँ हाट बजार लाग्ने गर्दछ । केही वर्ष अघिसम्म यसलाई भोजपुरको दक्षिणी भेगको विकट बजारका रूपमा हेर्ने गरिन्थ्यो । तर आज यो विकसित बजारका रूपमा चिनिन पुगेको छ । यो शैक्षिक केन्द्र पनि हो । यहाँ टाढाटाढाबाट उच्च शिक्षा लिन आउने विद्यार्थीहरूको चहलपहल देखिन्छ । भोजपुरको दक्षिणपश्चिम भेगको चर्चित एक मात्र मावि शैक्षिक सँस्था शिक्षा क्षमाकन्या उच्च माविले आज मात्र होइन, हिजोको इतिहाससमेत बोकेको छ । यो विद्यालय वि.सं.२०३९ सालमा स्थापना भई हालसम्म लाखौं विद्यार्थीलाई ज्ञान बाँड्न सफल भएको छ । शिक्षा क्षमाकन्या मावि बयाङमा हाल प्राविधिक धार तर्फको बालीविज्ञान समेतको विषय पढाइ हुने गरेको छ ।

शैक्षिक हबको रूपमा विकास भइरहेको बयाङ एसईई परीक्षा र प्लस टु तर्फको परीक्षा केन्द्रसमेत हो । यो विद्यालयले धेरैको मन जित्न सफल भएकै कारणले गर्दा धेरैको रोजाइमा पर्ने गरेको यसै विद्यालयका पूर्वप्रधानध्यापक अर्जुन नेपालले बताए । टेलिफोन, बिजुली, इन्टरनेट, खानेपानी, सडक, शैक्षिक सँस्था, सहकारी सँस्था, बैंक, कुटानी पिसानीका लागि मिल आदि सुविधाको अहिले यो बजारमा कुनै कमी छैन । शान्ति सुरक्षाका लागि बयाङ चौकी तीन दशकअघिदेखि नै कायम छ । समथर भूभागमा फैलिएको बयाङ बजारको पूर्व – पश्चिम बनोट समथर र दक्षिण– उत्तर ओरालो, भिरालो रहेको छ । पूर्वमा घोरेटार नजिकै र पश्चिममा खोटाङको सिमानासम्म पूर्व– पश्चिम भूभाग समथर फैलिएको छ । बयाङ बजार यातायातको केन्द्रविन्दुसमेत हो । घोरेटार , बालंखा सडक खण्डको करिब बीचमा रहेको हुँदा यही मार्ग हुँदै गन्तव्यमा पुग्न सकिन्छ । यहाँबाट पूर्व–पश्चिम र उत्तर–दक्षिण जाने बाटाहरू छुट्ने गर्दछन् ।