इटहरी: राष्ट्रिय भूमि समस्या समाधान आयोगका संघीय उपाध्यक्ष नइन्द्र खड्काले आगामी फागुन महिनाभित्र देशभरका सबै वास्तविक सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने बताएका छन् ।
अखिल नेपाल सुकुम्बासी संघ सुनसरी र अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को संयुक्त आयोजनामा आज इटहरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जग्गाधनी प्रमाण पुर्जा वितरणका लागि नीतिगत तथा प्राविधिक तयारी युद्धस्तरमा भइरहेको उपाध्यक्ष उल्लेख गर्दै खड्काले आयोगले गरिरहेको प्रयासले छिटै प्रतिफल दिने आश्वासन दिए । विपन्न वर्गका भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको भोगाधिकारबाट वञ्चित गर्न धेरै ठूलो शक्ति सक्रिय रहेको बताउँदै उनले त्यसका विरुद्ध आन्दोलनका लागि तयार हुनुपर्ने अवस्था आएको जिकीर गरे ।
अखिल नेपाल किसान संघ (क्रान्तिकारी केन्द्र) सुनसरीका अध्यक्ष राजन पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आयोगका उपाध्यक्ष खड्काले प्रमुख आतिथ्य ग्रहण गरेका थिए । कार्यक्रमस्थलमा नेकपा माओवादी केन्द्रका सुनसरी इन्चार्ज निर्मल बराल, सुनसरी संयोजक सुरेन्द्र मेहता, संविधानसभा सदस्य अनिताकुमारी परियार, मजदुर नेता भानु मैनाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अखिल नेपाल सुकुम्बासी संघ सुनसरीका अध्यक्ष सुदर्शन श्रेष्ठले गरेका थिए ।