इटहरीः राष्ट्र बैंकबाट क, ख र ग वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएका बैंक तथा वित्तीय सँस्थाभन्दा घ वर्गको इजाजत पाएका लघुवित्त वित्तीय सँस्थाको वित्तीय पहुँच सन्तुलित देखिएको एक अध्ययनले बताएको छ ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान शाखाले तयार गरेको एक अध्ययन प्रतिवेदनले वित्तीय पहुँचको आधारमा कर्णाली सबैभन्दा पछाडि परेको र बागमती प्रदेश अन्य प्रदेशभन्दा अगाडि रहेको समेत सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय सँस्थाको पहुँचको आधारमा कर्णाली प्रदेश ४ प्रतिशतमा सीमित रहेको पाइएको छ भने बागमती प्रदेश ३४ प्रतिशत वित्तीय पहुँचमा छ । शहरी क्षेत्र र वित्तिय साक्षरतामा अगाडि भएका कारण बागमती प्रदेशमा कुल बैंक तथा वित्तीय सँस्थाका शाखामध्ये सबैभन्दा बढी शाखा रहेको र कर्णाली प्रदेश सबैभन्दा कम वित्तीय पहँुच भएको नेपाल राष्ट बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट बैंकको फाइनान्सियल सेक्टरस रिसोर्स मोबिलाइजेसन अन्डर फेडरल स्टक्चर अफ नेपाल विषयक अध्ययनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कर्णाली प्रदेश निक्षेप संकलन र कर्जाको उपयोग दुवैका पछाडि रहेको छ । बैंक तथा वित्तीय सँस्थाबाट परिचालित भएको कुल कर्जाको ६८ प्रतिशत र कर्जाको ५६ दशमलव ६ प्रतिशत बागमती प्रदेशले उपभोग गर्दै आएको छ ।
अध्ययन अनुसार वाणिज्य बैंक, विकास बैँक र फाइनान्सियल कम्पनीभन्दा घ वर्गमा रहेका लघुवित्त वित्तीय सँस्थाहरुको वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रुपमा बढी सन्तुलित देखिएको छ । उता सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको उपभोगमा भने बागमती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधान परिचालन क्रमिक रुपमा विस्तार भइरहेको पाइएको छ । औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रुपमा सन्तुलित हुँदै गएको र वित्तीय पहुँच न्यून रहेका प्रदेशहरुमा साधन परिचालन अभिवृद्धि गर्न मागको पक्षमा सुधार गर्नुपर्ने देखिएको अध्ययन प्रतिवेदनले आँैल्याएको छ । विपन्न वर्ग, बेरोजगार र महिला लगायतले सञ्चालन गरेका व्यवसाय प्रवद्र्धन गर्न कार्यान्वयनमा ल्याइएका सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा सुविधाको समेत विश्लेषण गर्दै सार्वजनिक गरिएको प्रतिवेदनले क,ख , ग र घ वर्गका वित्तीय सँस्था र सहकारी सँस्थाहरुसमेत समेटिनेगरी अध्ययन गरेको बताइएको छ ।